अर्घाखाँची । अर्घाखाँचीको डिभर्ना बोयर जातका बाख्रा उत्पादन स्थल बन्दैछ । अष्ट्रेलियाबाट एउटा बोकालाई ३ लाखका दरले १५ वटा बोयर बोका ल्याइएको थियो । परम्परागत रुपमा पालिँदै आएका खरी जातका बाख्राहरुमा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजी सम्मको मासु उत्पादन हुन थालेपछि जिल्लमा अहिले बाख्रा पालन व्यवसाय झनै फस्टाउँदै गएको छ ।

डिभर्नाका कृषकहरुले बोयर जातका बोकाको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका – ११ डिभर्नामा कृषकहरुले बोयर जातका बोकाको क्रस गरेर जन्माएका ४१ बोकाको बिक्रीबाट मात्र १४ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

यहाँ उत्पादित बोकाको तीन महिनामा नै ३० किलो र वार्षिक  एक क्वीन्टलभन्दा बढी मासु हुने गरेको छ । एक सय ५३ घरधुरी संलग्न रहेको जालकाँडा बाख्रापालन समुहका कृषकहरूलाई बोयर बोकाको विक्रीबाट प्राप्त १४ लाख रकम हस्तान्तरण गरेको जिल्ला पशु सेवा कार्यलयका डाक्टर लोकनाथ पौडेलले जानकारी दिनुभयो  ।

बोयर जातको बोका वितरण गरेसँगै यहाँका बासिन्दाहरु बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । सुरुवातको समय भए पनि सदस्यहरुसँग कम्तीमा तीनदेखि ३५ वटासम्म बाख्रा रहेका छन् ।

-उज्यालो अनलाईन बाट