पर्वत। पर्वतको कुस्मा नगरपालिका–७ को खरेहाका किसानले पहिलो पटक व्यवसायिक कन्दमूल खेती सुरु गरेका छन् । बजारमा तरुल, भ्याकुर, गिठा, बन तरुल जस्ता कन्दमूलको माग बढ्दै गएपछि यहाँका किसानले व्यवसायिक कन्दमूल खेती गर्न थालेका हुन् ।

 चालू आर्थिक वर्षमा कन्दमूल खेती विस्तारका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको कुस्मार नगरपालिका–७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । यहाँका किसानले अहिलेसम्म निर्वाहमुखी कन्दमूल खेती गर्दै आएकोमा अब त्यसलाई व्यवसायिक बनाउन लागिएको हो ।

कन्दमूल खेती गर्न इच्छुक किसानलाई संगठित गरी यस वर्ष ६ क्वीन्टल कन्दमूलको विऊ वितरणसमेत गरिएको छ । प्रति कृषक ५ देखि १० किलोका दरले ८० जनाभन्दा बढी कृषकलाई तरुल, वनतरुल, भ्याकुर, गिठा जस्ता कन्दमूलको विऊ वितरण गरिएको छ ।

धादिङ, काभ्रे, सिन्धुपाल्चोक जस्ता जिल्लामा कृषकलाई भ्रमणमा लगिएको र त्यहाँ यस्ता वस्तुबाट गरिएको आम्दानी देखेर यहाँका कृषक प्रभावित भएपछि यो खेती थालिएको हो ।

सदरमुकाम कुश्माबजारसँगै जोडिएको वडा नं. ७ मा प्रसस्त पाखो बारी र खाली जमिन रहेको र त्यसलाई उपयोग गरी प्रसस्त आम्दानी गर्न सकिने देखिएपछि यो खेतीमा कृषकहरु आकर्षित भएका छन् ।