स्याङ्जा। स्याङ्जामा अत्याधुनिक बायोग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ। सातजना स्थानीयले ५० करोड रुपैयाँ लागतमा सञ्चालित खिलुङ–कालिका एग्रो फर्मले प्लान्ट सञ्चालनमा ल्याएको हो।

एउटै प्लान्टबाट बायोग्यास, विद्युत् र मल उत्पादन गर्ने यो कम्पनी मुलुककै पहिलो भएको दाबी उक्त फर्मका कार्यकारी अधिकृत शोभाकान्त ढकालको छ। उनका अनुसार प्लान्टबाट दैनिक १ हजार २ सय किलो बायोग्यास उत्पादन हुन्छ। ‘देशका विभिन्न स्थानमा सञ्चालित यस्ता प्लान्टबाट मल मात्रै उत्पादन हँुदै आएको छ,’ उनले भने, ‘एउटै प्लान्टबाट तीन थरीका वस्तु उत्पादन गर्ने हाम्रो कम्पनी अत्याधुनिक हो।’ कुखुराका सुलीको व्यस्थापनसँगै फर्मका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न प्लान्ट सञ्चालनमा ल्याएको उनले बताए।भिरकोट नगरपालिका ६ को ४० रोपनी क्षेत्रफलमा फैलिएको खिलुङ–कालिका एग्रोकोशाखा उद्योगका रूपमा सञ्चालनमा आएको प्लान्ट पुतलीबजार नगरपालिका ४ को नागडाँडामा छ।

३५ रोपनी क्षेत्रफलमा बनाइएको शाखामा बायोग्यास प्लान्ट सञ्चालनका लागि फिडिङ, ग्यास, डाइजेस्टर, फटिलोरी टयांकी, बी क्यान्टर निर्माण गरिएको छ। जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली उत्पादन र बाँकी रहेका मल सुकाउनेसँगै मललाई प्याकिङ गर्ने काम सहज भएको छ। प्लान्टबाट दैनिक एक टन अर्थात् ८० बोटल ग्यास, ३ सय ५० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ। शाखामा मात्रै झन्डै २० करोड रुपैयाँ लगानी परेको बताउँदै ढकालले भने, ‘उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएको छ भने मल र ग्यास स्थानीय बजारमा एक महिनामा बिक्री गर्ने तयारी गरेका छौं।’

कम्पनीमा कच्चा पदार्थको ठूलो हिस्सा उत्पादन हुने भएकाले ठूलो लगानीबाट सहायक उद्योग सञ्चालन गरिएको फर्मले जनाएको छ। कच्चा पदार्थको उच्चतम प्रयोगबाट बाहिरी ठोस पदार्थलाई मलमा परिणत गरेको ढकालले जानकारी दिए।

बजारमा दैनिक रूपमा उपभोग गरिने एलपीजी ग्यासको तुलनामा उद्योगबाट उत्पादन हुने सीएनजी ग्यास २० प्रतिशत बढी टिकाउ हुने कम्पनीले दाबी गरेको छ। कृषि मन्त्रालयले तोकेको मापदण्डअन्तर्गत रहेर मल उत्पादन गरिएको कम्पनीले जानकारी दिएको छ। उद्योगबाट उत्पादन हुने बायोग्यास जर्मनी र चिनियाँ प्रविधिमा तयार गरिने कम्पनीले जनाएको छ। इन्धनका लागि बाहिरी देशको भर पर्नुपर्ने देशलाई इन्धन व्यवस्थापन गर्न यस्ता कम्पनी सहयोगी बनेको ढकाल बताउँछन्।

एकै दिनमा दुई लाख अण्डा उत्पादन गर्ने क्षमता भएको खिलुङकालिका एग्रो फर्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली कच्चा पदार्थको मुख्य स्रोत रहेको प्लान्टलाई चार टन गाईभैंसीको मल र दैनिक करिब दुई टन जैविक पदार्थको मिश्रणपछि तीन थरीका वस्तु उत्पादन भएको ढकालले बताए।