तरकारी तथा फलफूल खेतीको लागि झारपात र पानीको कमी मुख्य व्यावधान हुन् । शोध र अनुसन्धानबाट यो थाहा हुन आएको छ कि झारपातको कारणले गर्दा तरकारी खेती उब्जनीमा भारी क्षती पुग्छ जसले गर्दा उत्पादन लागत पनि बढ्न जान्छ । उत्पादन बढाउन तथा पानी संचयको लागि मल्चीङ्ग धेरै नै सहयोगी हुने गरेको छ । माटोलाई सुकेको पातहरू, हाँगा र अन्य झारपात आदिद्वारा छोपेर राख्नु नै मल्चीङ्ग हो । प्लाष्टिक शीटद्वारा मल्चीङ्ग गर्नु एक उत्कृष्ट विधि हो ।

प्लाष्टिक मल्चीङ्ग अन्य मल्चीङ्ग भन्दा बढी प्रभावकारी पनि हुन्छ र यसबाट हुने लाभहरू निम्न छन्ः

पानीको वाष्पिकरणलाई रोकी राख्छ ।
विभिन्न झारपातलाई उम्रन नदिएर नियन्त्रण गर्छ ।
सिंचाइको आवश्यकतालाई कम पार्छ ।
झारपातको बीउ प्रसारणमा कमी ल्याउँछ ।

विधि:

प्रभावकारी प्लाटिक मल्चीङ्गको लागि निम्न विधिहरू अपनाउन सकिन्छ ।

बोट बिरुवाको (टुप्पा) क्यानोपीको गोलाइ वा लम्बाई, चौडाइ वा क्षेत्रफल जति नै प्लाष्टिकको बंडलबाट प्लाष्टिकको फिल्म त्यती नै काट्नुपर्छ । तरकारीको हकमा तरकारी ब्याडको लम्बाइको बराबर काट्नु पर्दछ । यसपछि सिंचाइ गर्नको लागि नाली बनाउने र अर्को लाइनमा प्लाष्टिक सिटको चौडाइ बराबरको ब्याड बनाएर तरकारीको बिरुवा लगाउने र त्यसमा पनि प्लाष्टिकको शीट (बिरुवा बाहेक) राख्ने । यसरी एक पछि अर्को गर्दै लाइनमा तरकारी रोपेर प्लाष्टिकले मल्चीङ्ग गर्दै छोप्दै जाने, जहाँ बीच–बीचमा मल्चीङ्ग छैन त्यहाँबाट पानीको नाली बनाएर सिंचाइ गर्ने व्यवस्था गर्नुपर्दछ ।

ड्रिप सिंचाइमा पाईपलाई मल्चीङ्ग गरेको कालो प्लास्टिक भित्रबाट राखेर लैजानु पर्दछ । मल्चीङ्ग गर्नुभन्दा पहिले बारी वा खेतलाई राम्ररी खनजोत गरेर तयार गर्नु पर्दछ र बाली लगाउने ठाउँमा इँट्टा, पत्थर, कंकड इत्यादी हटाएर उचित मात्रामा राम्ररी कुहिएको गोबर मल माटोमा मिसाएर जग्गा तयार गर्नुपर्छ ।

तरकारी रोप्ने ठाउँको क्यारी वा ब्याडहरू प्राय समतल हुन जरुरी छ किनभने यसो हुँदा राम्ररी सिंचाइ गर्न सकिन्छ र मल्चीङ्ग प्रभावकारी हुन जान्छ । प्लाष्टिकको शीटलाई क्षती नपुगोस भन्नका लागि ड्रिप सिंचाइका ड्रिपर बोटको निकट हुनु पर्छ । तरकारीको बीउ पनि प्लास्टिकको शीटमा बनाईएका प्वालहरूको ठिक बीचमा हुनु पर्दछ यसो हुँदा बिरुवा उम्रदा प्लाष्टिक बाहिर देखिन्छ । यदि बिरुवा, बेर्ना रोप्नु छ भने जुन बेला रोप्नु छ त्यहिबेला प्वाल पारेर रोप्नुपर्छ, बेर्नाको जरालाई माटोमा राम्ररी दाबेर रोप्नुपर्छ र जराभन्दा माथिल्लो भागलाई प्वाल भन्दा माथितिर राख्नुपर्छ । त्यस्तै ड्रिपर बेर्नाको नजिकै हुनु पर्छ। यदि बिरुवा रोपिसकेपछि मल्चीङ्ग गर्ने हो भने ध्यान रहोस बेर्ना मल्चीङ्ग सिट मुनी हुनु हुँदैन, किनकी मल्चीङ्ग सिट मुनी दाबिएर रहेमा बिरुवा बढ्दैन र फल पनि लाग्दैन ।

प्लाष्टिक मल्च हटाउँदाको सावधानीहरू:

यदि प्लाष्टिक सिटलाई हटाएर अर्को स्थानमा लगाउनु छ भने यो प्लाष्टिक फिल्मलाई एक किनारबाट हटाएर समेट्दै लैजानु पर्दछ । यसरी समेटेर रोल बनाउनाले प्लाष्टिक च्यातिदैन र काटिदैन र अर्को सब्जी, तरकारी फसलमा राम्ररी लगाउन सकिन्छ ।

विभिन्न फलको लागि प्लाष्टिकहरू:

टमाटर, भिण्डी, पातको सब्जी, मटर, फुलगोभी, बन्दागोभी, मिर्ची, र आलु आदिको लागि १५ देखी ३० माईक्रोनको मोटाइ वाला प्लाष्टिक फिल्म प्रयोग गर्नुपर्छ । यदि कुनै तरकारी वा फलको उम्रने अवधि लगभग एक वर्ष वा त्यो भन्दा माथि छ भने (जस्तैः पपिता, स्ट्रबेरी, आनारस, वा केरा) यिनको लागि मोटो फिल्म ५० माइक्रोन को प्रयोग गर्नुपर्छ । फलफूल बिरुवा जुन एक वर्ष भन्दा बढी हुन्छ तिनको लागि १०० माइक्रोन भन्दा बढीको प्लाष्टिक प्रयोग गर्नुपर्छ ।

मल्चीङ्गबाट हुने लाभहरु:

२० देखी ३० प्रतिशत उत्पादनमा बृद्धि हुन्छ । उत्पादित वस्तुको गुणस्तरमा सुधार हुन्छ । कालो प्लाष्टिकले गर्दा सूर्यको किरण माटो मुनि पुग्दैन जसले गर्दा झारपातहरू उम्रन पाउँदैनन् । यदि ड्रिप सिंचाइ र मल्चीङ्ग साथै गरेमा कम रसायनिक मल र किटनाशक विषादीको आवश्यकता पर्दछ ।

मल्चीङ्ग गर्नाले बिरुवाको जराहरू असल तरिकाले बढ्दै जान्छ र उत्पादन बृद्धिमा सहयोग गर्दछ । मल्चीङ्ग गर्नाले सिंचाइको आवश्यकतामा २० देखी ३० प्रतिशतले घट्न सक्दछ । प्लाष्टिक मल्चले गर्दा माटोको जलांशको वास्पिकरण रोकिन्छ र आउँदा दिनहरूमा सिंचाइको माग कम हुँदै जान्छ । बीउ छर्ने काम पछि छरेको बीउको पारदर्शी प्लाष्टिकले ढाकिएपछि बीउ उम्रने कार्य राम्रो हुने गरेको पाइन्छ।

प्लाष्टिक मल्चले गर्दा वर्षातको थोप्लाहरू सिधा जमिनमा पर्दैन त्यसले गर्दा माटोको संरचनामा प्रभाव पार्दैन । प्लाष्टिक मल्चको माथिबाट वर्षातको पानी एकत्रित गरी संग्रह गर्न सकिन्छ र त्यसलाई आवश्यकता अनुसार पुनः प्रयोग गर्न सकिन्छ । यसमा ध्यान दिनु पर्ने कुरा के छ भने संग्रह गरेको वर्षाको पानी नुन वा लवणको मात्रा हुँदैन र ट्यूब–वेल आदिको भन्दा अझ उपयोगी हुने गर्दछ ।

प्लाष्टिकमल्च गरेपछि फलफूलका बिरुवाहरूबाट फल खस्दा सिधै प्लाष्टिक सिटमा नै खस्ने हुँदा रोग जनक किटाणुसँग संक्रमण हुँदैन । प्लाष्टिक मल्चले थप तापक्रममा योगदान गर्दछ । यसले गर्दा भुँइको तापक्रम दिनमा कम हुने गर्दछ र रातमा तापक्रम धेरै हुने गर्दछ। जसको फलस्वरूप जराहरूको बृद्धिमा राम्रो प्रभाव पार्दछ ।

पारदर्शी प्लास्टिक मल्चले गर्दा दिनमा भुँइको तापक्रम बढ्दछ र भुँइमा उपस्थित किटाणु, नेमाटोड तथा झारपात विशेषतः माथिल्लो भागमा नष्ट भै जान्छ । पहाडी क्षेत्रमा कालो प्लास्टिकद्वारा मल्च गरेमा वायुको तापमान कम हुन्छ तथा भूमिको तापमान बढ्दछ र यसले गर्दा जरामा राम्ररी बढ्ने कृया सफल हुन्छ । यस प्रकृयाले गर्दा बिरुवाको बढोत्तरी र फलको आकार तथा फलको गुणस्तरमा समेत सुधार हुन्छ । प्लाष्टिक मल्चले मलको आवश्यकता कम गर्छ तथा मलको चुहावटमा कमी गर्छ ।