काठमाडौ । चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो । चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुस मसान्त सम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ । प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले निकालेको अर्धवार्षिक तथ्यांकअनुसार ६५ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको सामग्री नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १९ हजार सात सय ६३ मेट्रिक टन सामग्री आयातका लागि एक अर्ब ७२ लाख दुई हजार रुपैयाँ बाहिरिएको थियो । यो वर्ष रेडिमेट मसला, ड्राइ मसरुम, बदाम, प्याज, कफी र ओखरको आयातमा वृद्धि भएको छ भने स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुकको आयात घटेको छ । ६२ करोड ६६ लाख ४० हजार तीन सय ५० रुपैयाँको १२ हजार पाँच सय ३३ मेट्रिक टन स्याउ, एक करोड ६० लाख ५१ हजारको तीन सय २१ मेट्रिक टन लसुन, ३९ लाख ७९ हजार पाँच सयको ८० मेट्रिक टन नास्पाती, तीन लाख ५१ हजार पाँच सयको तीन मेट्रिक टन अचार, एक लाख १३ हजार पाँच सय २० को भोटे चिया, नौ हजार नौ सय ४० को ०.१४ मेट्रिक टन गुन्द्रुक आयात भएको छ ।

त्यसैगरी दुई लाख २० हजारको चार मेट्रिक टन रेडिमेट मसला, १२ लाख ७५ हजारको पाँच मेट्रिकटन ड्राइ मसरुम, २८ लाख ८० हजारको २० मेट्रिक टन ओखर, १६ लाख ४२ हजारको ३३ मेट्रिकटन प्याज, ५० हजारको ०.२ मेट्रिकटन कफी आयात भएको छ । चीनबाट कृषिजन्य सामग्री आयातमा कमि आएको भएपनि निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।

प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवका अनुसार ३ सय १६.३९ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । तीन करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको छ । १२ हजार आठ सय ८० ओटा बाँसको मुडा निर्यात गर्दा ३१ लाख २० हजार, तीन हजार दुई सय ५० केजी काठको टेबलबाट दुई करोड ६० लाख र १९ हजार दुई सय केजी अम्रिसोको कुचो निर्यात गर्दा २८ लाख ८० हजार आम्दानी भएको अधिकृत यादवले बताउनु भएको छ । गत वर्ष साउनदेखि पुस मसान्तसम्म ७६ लाख ८५ हजार रुपैयाँको सामग्री निर्यात भएको थियो ।