
माघ । एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए।
भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र अनुमति दिएको छ। अन्य कम्पनीलाई अदुवा खरिदको अधिकार नदिएकाले मेची एक्सपोर्टले विभिन्न बहानामा अदुवा खरिद रोक्ने गरेको अध्यक्ष खड्काको भनाइ छ।
उनका अनुसार देशभरको अदुवा अहिले काँकरभिट्टा नाकाबाट मात्र भारत जाने गरेको छ। वाणिज्यसचिव चन्द्रप्रसाद घिमिरेसहित सरोकारवालासँग छलफल भए पनि अदुवा निर्यात समस्या सुल्झाउन सरकार पनि असफल भएको व्यवसायीको दाबी छ। भारतले समस्या समाधानमा नलागेपछि सरकार अब अदुवाको अर्को बजार खोज्ने मुडमा पुगेको छ। मन्त्रालयका अधिकारीहरु नै ‘भारतले टेरेन अब विकल्प खोजौं’ भन्न थालेको स्रोत बताउँछ।
भारतले यसअघि विषादी प्रयोग भएको, चीनको अदुवा नेपाल हुँदै भारत पुर्याउने गरेको आरोप लगाउँदै भारतले भित्र्याउन रोक लगाउने गरेको थियो। संघका महासचिव हेमन्त बोहोराले नेपाली अदुवाको व्यापारमा ब्रेक लगाउने प्रयासस्वरूप पछिल्लो अवरोध भएको बताए। काँकरभिट्टा र वीरगन्ज नाकाबाट चिनियाँ अदुवा भित्रिने जाने गरेको आरोप भारतीय पक्षको थियो। अहिले आरोप फेरिए पनि समस्या उस्तै रहेका बोहोराले बताए।
सूर्योदय नगरपालिका फिक्कलका अदुवा व्यापारी नारद धितालका अनुसार बीउ अदुवा प्रतिकिलो २५ रुपैयाँ र भारत जाने अदुवा प्रतिकिलो औसत १५ रुपैयाँमा कारोबार भइरहेको छ। अहिले बारीमै अदुवा थुप्रिएको उनको भनाइ छ।
व्यापारीले अदुवा खरिद गर्न छोडेको माईजोगमाई नाम्सालिङका गणेश अधिकारीले सुनाए। भने, ‘बजार छैन भन्दै व्यापारीहरू अदुवा किन्न आउन छोडेका छन्।’ बारी ठेक्कामा लिएर ४० मन (४० किलोको एक मन) अदुवा रोपेका उनले १२० मनभन्दा बढी अदुवा फलाएका छन्। अदुवा बिक्री नै नभए आउँदो वर्ष किन रोप्ने भन्ने चिन्ता थपिएको उनले बताए।
अदुवा उत्पादकदेखि व्यवसायीसम्मले गुणस्तरमा ध्यान नदिएकाले पनि समस्या आएको किसान महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताए। मापदण्डअनुसार बोक्रा फालेको वा नफालेको सुकेका विभिन्न आकारको अदुवाको गानो, चिस्यान १२ प्रतिशतभन्दा कम भएको, बाह्य पदार्थ २ प्रतिशतभन्दा कम भएको, सुगन्धित तेल एक प्रतिशतभन्दा बढी भएको, क्याल्सियम अक्साइड ४ प्रतिशतभन्दा कम भएको र कुनै रंगको प्रयोग नभएको अदुवा निर्यातयोग्य हुन्छ। मापदण्डअनुसार नहुँदा नेपालबाट भारत पुर्याउने अदुवाको कानुनी हैसियतसमेत नबनेकाले समस्या पर्ने गरेको महासचिव बोहराको भनाइ छ।
इलाम पाँचथरबाट अधिकांश अदुवा झापाको धुलाबारी हँुदै भारत निकासी हुने गरेको छ। अदुवा बिक्री नहुँदा इलामका १२ हजार नौ ३२ परिवार किसान प्रभावित भएका छन्। इलाम, पाँचथर र झापामा अदुवा उत्पादन बढ्दो रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ।
३२३३ हेक्टरमा अदुवा खेती भएर ४५ हजार नौ सय ९४ टन उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। पाँचथरमा २ हजार हेक्टरमा अदुवाको खेती हुने गरेको छ। पाँचथरमा २१ हजार एक सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ। झापामा तीन सय ४२ हेक्टरमा खेती हुने अदुवाको वार्षिक उत्पादन ४ हजार पाँच सय ८३ टन छ।