भीमदत्तनगर।  कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि पाँचदिने खाद्य मेला शुरु भएको छ । सुदूरपश्चिम क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनामा शुरु भएको सो मेलामा सुदूरपश्चिमका परम्परागत खाद्य परिकार, होटल व्यवसाय र विभिन्न वस्तुभाउका गरी ६० वटा कक्ष रहेका छन् ।

 क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख उपेन्द्र रायले पाँच दिनसम्म सञ्चालन हुने मेलाबाट उपभोक्ताले लाभ लिनुका साथै खाद्यप्रति जनचेतना फैलिने विश्वास व्यक्त गर्नुभयो ।

मानवीय स्वास्थ्यलाई अनुकूल हुने वस्तुभाउ प्रदर्शनीमा राखिनुका साथै खरिद गरेर मेलामै उपभोगसमेत गर्नसक्ने उहाँको भनाइ छ । “यसअघि कैलालीको सुख्खडमा मेला गरिएको थियो”– प्रमुख रायले भन्नुभयो, “सुदूरपश्चिममा यो दोस्रो पटक आयोजना गरिएको मेला हो ।”

सुदूरपश्चिमका क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद पौडेलले उद्घाटन गर्नुभएको सो कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, मदिरा व्यापार संघका पदाधिकारीका साथै व्यापारी तथा व्यवसायी सहभागीता थियो ।

मेलामा सांस्कृतिक प्रस्तुतिसमेत रहेको आयोजकले जनाएको छ ।