कैलाली । चिसो मौसममा दूधको खपत नभएको भन्दै दुग्ध विकास संस्थानले दूध किन्न छोडपछि किसानले सोमबार लम्कीको सडकमै दूध पोखेका छन्।
कात्तिक १५ गतेदेखि नियमित रुपमा कैलालीको लम्कीमा रहेको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले किसान र दूध डेरीहरुले संकलन गरेको दूध लिन छोडेको स्थानीय किसानको गुनासो छ। दुग्ध विकास संस्थानले किसानबाट सिधै र डेरी व्यवसायीबाट दूध लिँदै आएको थियो। सीमित मात्रामा स्थानीय बजारमा दूध खपत भए पनि यस क्षेत्रको दूध दुग्ध विकास संस्थानले व्यवस्थापन गर्न नसक्दा किसान मर्कामा परेका हुन्।
डेरी व्यवसायीहरुबाट दूध, दुग्ध विकास संस्थानले नलिदा किसानको दूधसमेत डेरी व्यवसायीले लिन मानेका छैनन्। बैंक तथा वितिय संस्थाबाट कर्जा लिई भैसीपालन गरी रहेका किसानहरु दूध बिक्री हुन छाडेपछि कसरी बैंकको ब्याज र किस्ता तिर्ने भन्दै चिन्तित भएका छन्। स्थानीय किसानले दुग्ध विकास संस्थान र सरकारको ध्यानाकर्षण गराउन सोमबार लम्की चौराहामा ५० लिटर भन्दा धेरै दूध ढोलेर सांकेतिक विरोध गरे।
आफूहरुले दुग्ध विकास संस्थानसंग पटक पटक आग्रह गर्दासमेत दुग्ध विकास संस्थानले दूध लिन नमानेको डेरी व्यवसायीको गुनासो छ। दुग्ध विकास संस्थानको लम्की चिस्यान केन्द्रका प्रमुख किरण गिरीले दूध ढुवानी गर्ने ट्यांकरको अभावका कारण दुग्ध किसान र डेरी व्यवसायीबाट ३/४ दिनदेखि दूध लिन नसकेको बताए।
लम्कीमा रहेको दुग्ध विकास संस्थानको दूध चिस्यान केन्द्रमा दैनिक एक हजार लिटर राख्न क्षमता भए पनि ३ दिनदेखि दूध ढुवानी हुन नसक्दा ३ हजार ५ सय लिटर दूध मौज्दात रहेको छ। कैलालीमा संस्थानसँग दूध ढुवानी गर्न एक मात्र ट्याड्कर रहेको र दूध लिएर पोखरा गएको तिन दिनसम्म पनि नफर्किएपछि समस्या भएको संस्थानका लम्की चिस्यान केन्द्रका प्रमुख किरण गिरीले बताए।