काठमाडौं । धान उत्पादनमा कमि आउने भएपछि कृषि विकास मन्त्रालयले वास्तविक तथ्यांक सार्वजनिक गर्न आनाकानी गरेको छ । गत वर्ष ५२ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भए पछि यस वर्ष धान उत्पादन बढाउने दाबि गर्दै आएको मन्त्रालय धान काटेको लामो समय भैसक्दा पनि चुपचचाप  छ । मन्त्रालयले आफ्नो घोषणाविपरीत कम धान फलेको पाएपछि तथ्यांक नै सार्वजनिक गर्न आनाकानी गरेको हो ।

दुई निकायका फरक–फरक तथ्यांक :
मन्त्रालयले यो वर्ष ५४ लाख मेट्रिकटन धान उत्पादन गर्ने गरी बजेट र कार्यक्रम घोषणा गरेको थियो । तर, प्रत्येक जिल्लाको उत्पादन तथ्यांक संकलन गर्ने कृषि विभागले ५३ लाख मेट्रिकटन उत्पादन भएको तथ्यांक मन्त्रालयलाई पेस गरेको छ ।

मन्त्रालयमातहतको तथ्यांक महाशाखाले उक्त तथ्यांकको थप विश्लेषण गर्दै ५१ लाख मात्रै उत्पादन भएको सूची तयार गरेको छ । एउटै मन्त्रालयका दुई निकायले फरक तथ्यांक दिएपछि धान कति फलेको हो भनेर सार्वजनिक गर्न अप्ठ्यारो परेको मन्त्रालय स्रोतको भनाइ छ ।

गलत तथ्यांक सार्वजनिक गर्ने तयारी
मन्त्रालयले गत वर्षको भन्दा बढी धान फलेको तथ्यांक सार्वजनिक गर्ने तयारीका साथ जिल्लाबाट आएका तथ्यांकलाई केही फेरबदल गर्न थालेको स्रोतको भनाइ छ । ‘जसरी पनि गत वर्षको भन्दा धेरै धान फलेको तथ्यांक देखाउनुपर्ने बाध्यतामा मन्त्रालय परेको छ,’ स्रोतले भन्यो, त्यसैले जिल्लाका तथ्यांकलाई अहिले हेरफेर गर्न थालिएको छ, जसकारण समय पनि लम्बिएको हो ।