काठमाडौं।  तरकारीको मूल्य पारदर्शी बनाउन किसानबाट खरिद हुने मूल्य दैनिक सार्वजनिक गर्नुपर्ने व्यवसायीले माग गरेका छन्।किसानबाट खरिद हुने मूल्य सार्वजनिक नहुँदा तीनचार तहमा बिचौलियाले आफूखुसी मूल्य बढाउने भएका कारण किसानले सही भाउ नपाउने र उपभोक्ताले पनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएको भन्दै व्यवसायीले यस्तो माग गरेका हुन्।

कालिमाटी बजारमा दैनिक भित्रिने तरकारीको किसानको बिक्री मूल्य र थोक मूल्य पारदर्शी रूपमा सार्वजनिक गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सके तरकारीमा देखिएको लुट नियन्त्रणमा ल्याउन सकिने नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको भनाइ छ ।

तरकारीको व्यापार पारदर्शी र उपभोक्तामुखी बनाउन पारदर्शी रूपमै किसानको बिक्री मूल्यसहित उपभोक्ताको खुद्रा मूल्य र थोक मूल्य दैनिक डिजिटल वा डिस्प्ले बोर्डमार्फत सार्वजनिक गरिए उपभोक्ता र किसान ठगिन नपर्ने महासंघको भनाइ छ ।

भारतलगायत अन्य मुलुकमा किसानबाट खरिद भएको मूल्यमा अधिकतम सात प्रतिशत थप रकम जोडेर थोक बिक्रेताले उपभोक्ताबाट मूल्य असुल गर्न पाउने व्यवस्था छ । यस्तै थोक मूल्यमा १७ प्रतिशत जोडेर खुद्रा व्यापारीले उपभोक्ताबाट तरकारीको मूल्य लिन पाउने व्यवस्था छ । तर व्ययावसायीले अधिकतम नाफा राखि तरकारी बेच बिखन गर्दै आएका छन् ।

अहिले कालिमाटी तरकारी बजारमा बिहान ३ बजेदेखि भित्रिने तरकारीको मूल्य निर्धारण थोक बिक्रेता र बिचौलियाले आफै गर्ने गरेका छन् । सोही मूल्यलाई बजार प्रशासनले पनि मान्यता दिएर सार्वजनिक गर्दै आएको छ ।

महासंघले उठाएको विषयवस्तुमाथि छलफल भइरहेको कालिमाटी तरकारी बजार सञ्चालक समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सहसचिव काशिराज दाहालले जानकारी दिए।

एउटा नीति नै तयार पारी किसानको बिक्री मूल्य, ढुवानी खर्च, नोक्सानी खर्च र थोक बिक्रेताको मूल्य नै सार्वजनिक गर्ने गरी आवश्यक तयारी भइरहेको उनले बताए ।