काठमाडौं।तरकारीको मूल्य नियन्त्रणमा नेपाल सरकारले प्रभावकारी कदम चाल्न नसकेको उपभोक्ताहरूले गुनासो गरेका छन् । किसानले कम मूल्यमा बिक्री गरेको तरकारी काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रका उपभोक्ताले महँगोमा खरिद गर्न बाध्य भइरहँदा सरकारी संयन्त्र मूल्य नियन्त्रणका लागि उदासीन भएर बसेका छन् ।

हरियो तरकारीको भाउ अचाक्ली महँगिए पनि सरकारले नियन्त्रणको ठोस पहल नगर्दा तिहारयता उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भइरहेका छन् । मूल्य नियन्त्रणको अनुगमन गर्ने जिम्मेवारी लिएको आपूर्ति मन्त्रालय सम्हालेका मन्त्री जयन्त चन्दले अनुगमन, मूल्य नियन्त्रणमा खासै चासो दिएका छैनन् ।

अहिले बजारमा तरकारीको भाउ उच्च बिन्दुमा छ । र, अधिकांश तरकारीको मूल्य सय रुपैयाँ प्रतिकिलो नाघेको छ । बुधबार उपत्यकाको खुद्रा बजारमा प्रतिकिलो च्याउ २ सय ५० रुपैयाँ, गोलभेडा १ सय ४० रुपैयाँ, काँक्रो १ सय ४० रुपैयाँ, कागती २ सय रुपैयाँ, बोडी १ सय ५० रुपैयाँ, काउली १ सय ४० रुपैयाँ, गाजर १ सय ५० रुपैयाँ, सिमी १ सय २० रुपैयाँ, ब्रोकाउली १ सय ६० रुपैयाँ, भिन्डी १ सय ६० रुपैयाँ, हरियो प्याज १ सय ५० रुपैयाँमा उपभोक्ताले खरिद गरेका छन् । त्यस्तै, प्रतिकिलो परवल ९० रुपैयाँ, बन्दा ९० रुपैयाँ, मूला ६० रुपैयाँमा खरिद गरेका छन् ।

मन्त्रालय मातहतको अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता र सञ्चारमाध्यमको चर्को दबाबपछि २४ कात्तिकमा कालिमाटी पुगेर अनुगमन गरेको थियो । अनुगमनले किसानबाट सस्तोमा किनेर उपभोक्तालाई महँगोमा तरकारी बिक्री गरेको भेटिएको महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । तर, विभागले अनुगमनपछि पनि मूल्य नियन्त्रणका लागि कुनै पहल गरेको छैन ।