वीरगञ्ज । नियमित आयात नहुँदा रासायनिक मलको मौज्दात सकिन लागेको छ भने भारत तथा तेस्रो मुलुकबाट तत्कालै मल आयात हुने सम्भावना नरहेकाले आउँदो हिउँद सिजनको गहुँ तथा मुसुरोजस्ता रवि तथा दलहन बालीलाई देशव्यापी रूपमै मलको चरम अभाव हुने सम्भावना देखिएको छ ।
हिउँदको सिजनमा मुलुककोे माग धान्न कम्तीमा तीन लाख टन युरिया र दुई लाख टन डीएपी मल आवश्यक पर्ने भए पनि कृषि सामग्री कम्पनी वीरगञ्जका अनुसार हाल मुलुकभरि युरिया मलको एक हजार १५० टन र डीएपी मलको ३५० टन मात्र मल मौज्दात रहेको छ ।
कृषि सामग्री कम्पनीको वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी गरी पाँच क्षेत्रीय कार्यालय तथा मातहतका जिल्ला कार्यालयमा मलको भण्डारण तथा वितरण गरिँदै आएको छ । २५ हजार टन युरिया मल कोलकाता बन्दरगाहमा आएर अड्किएको स्रोतले बताएको छ । कम्पनीले ग्लोबल टेन्डरबाट विल्सन कम्पनीमार्फत उक्त मल ल्याउन लागेको भए पनि मल आउन सकिरहेको छैन ।
सामसुङ कम्पनीबाट ३० हजार टन युरिया र २५ हजार टन डीएपी गरी ५५ हजार टन मल ग्लोबल टेन्डरमार्फत ल्याउन लागेकामा प्राविधिक कारणले उक्त टेन्डर रद्द गरी नेपाल सरकार आफैँले भारतसँग सोझै (जीटुजी प्रणालीबाट) खरिद गरी मल ल्याउन खोजेको भए पनि कम्पनीले त्यसमा सफलता पाउन सकिरहेको छैन ।
अहिले भारतले आफैंलाई मल नपुग्ने बताउँदै नेपालले मागे जति नदिई तत्काललाई सात हजार पाँच सय टन युरिया मल दिन सक्ने स्पष्ट पारिसकेको स्रोतले बताइएको छ ।
कम्पनीले अब थप मल आयात गर्न तत्कालै ग्लोबल टेन्डर गरेमा पनि टेन्डर स्वीकृत गरी सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पूरा गरेर तेस्रो मुलुकबाट मल आयात गर्न कम्तीमा ९० दिन समय लाग्ने भएकोले माघ महिना नलागि मल आउन नसक्ने भएको छ । यसरी माघ महिनासम्म मल नआएमा किसानको गहुँ, मुसुरो बालीलाई असर पर्ने निश्चित छ ।