बर्डफ्लु पंक्षीहरुमा लाग्ने अति सङ्क्रामक एवं घातक सरुवा रोग हो । यो रोग एभिएन इन्फ्लुएन्जा भाइरस (Avian influenza Virus)ले लाग्ने गर्दछ । कम घातक बर्डफ्लुलाई (Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरीन्छ, भने अति घातक बर्डफ्लुलाई (Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ । HPAI मुख्य गरी H5N1भाइरसले  लगाउँछ । यो भाइरस पंक्षीहरुमा एकदम चाँडै सर्न सक्ने र ४८ घण्टाभित्र कुखुरा फार्मको ९० देखि १०० प्रतिशत कुखुरा मर्न सक्दछन् । हाँस र जङ्गली चराहरुमा भाइरस भएतापनि ती बिरामी नपर्न सक्छन् तर तिनले अरु पंक्षीहरुमा भाइरस सार्न सक्दछन् ।

नेपालमा कुखुरा व्यवसाय फस्टाउँदै गईरहेको अवस्थामा समय समयमा देखापर्ने बर्डफ्लु अहिले यस व्यवसायको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । भर्खरै मात्र पोखराको खाल्डे मसिनाकी मिना परीयारले पालेका हाँस, कुखुराहरुमा H5N1  नामक बर्डफ्लु लागेको पुष्टि भएको छ । बि. स. २०६५ सालमा पहिलो पटक H5N1 नेपालमा देखिएको थियो भने बि.स. २०६९–२०७० मा यो रोगले महामारी रुप लिई नेपालको पोल्ट्री व्यवसायमा ठूलो क्षति पु¥याएको थियो । यो रोग अति छिटो फैलीने घातक सरुवा रोग हो । यो रोग लागिसकेपछि उपचारपनि छैन त्यसैले यो रोग लाग्न नदिनु र लागि सकेपछि फैलिन नदिनु नै सबैभन्दा उत्तम उपाय हो ।

बर्डफ्लु सङ्क्रमिक क्षेत्रबाट अन्य क्षेत्रमा रोग फैलिन नदिने उपायहरुः

  • बर्डफ्लु देखापरेको अवस्थामा त्यस क्षेत्र भित्रका कुनै पनि पंक्षीजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसार पसार नगर्ने ।
  • कुखुरा नष्ट गर्न आउने टोली र स्वास्थ्य टोलीहरुलाई बिरामी वा मरेका कुखुरा वा पंक्षी भएको स्थानको पहिचान गर्न मद्दत गर्ने साथै निसक्रमण गर्न सहयोग गर्ने ।
  • यदि मानिसमा पनि रोग लागेको सङ्का भएमा स्वास्थ्य टोलीलाई तुरुन्तै जानकारी गराउने ।
  • कुखुरा नष्ट गर्न आउने टोली नआएसम्म मरेका कुखुरा, हाँस, वा पंक्षी जथाभाबि हुन वा बच्चाहरुलाई खेलाउन नदिने ।
  • संक्रमिक क्षेत्रलाई सरकारले रोग मुक्त क्षेत्र घोषण गरेर र व्यापार खुल्ला गरेपछि मात्र पंक्षी वा पंक्षीजन्य सामानको ओसारपसार गर्ने ।

रोगथामका उपायहरुः

१. आफ्नो फार्ममा जैबिक सुरुक्षाका उपायहरु लागु गर्ने ।

  • जङ्गली पंक्षीहरु आफ्नो फार्ममा पालेका कुखुरा, हाँसहरु संग सम्पर्कमा आउन नदिने ।
  • हाँस र कुखुरालाई छुट्टाछुट्टै खोरमा पाल्ने र एकै ठाउँमा चर्ने नदिने ।
  • भरप्रदो स्रोतबाट मात्र चल्ला, दाना र अन्य सामाग्री भित्राउने ।
  • बिरामी कुखुरालाई अन्य पंक्षीसंग लसपस हुन नदिने ।
  • बजारमा बेच्न लगिएका कुखुरा फिर्ता नल्याउने ।
  • खोरमा पस्दा निस्कदा साबुन पानिले राम्ररी हात धुने ।
  • मरेका हाँस, कुखुरा तथा सुली, प्वाँख आदि नथाभावी नफाल्ने ।

२. अबैध ओसार पसार नगर्ने नगराउने । कसैले अबैध पदार्थ ओसार पसार गरेको थाहा पाएमा सम्बन्धित निकायमा जानकारी दिने ।

३. कुखुरा, हाँस वा अन्य पंक्षीहरुमा आकस्मीक रोग देखापरेमा वा मृत्यु भएमा तुरुन्तै नजिको पशुसेवा कार्यलय वा नजिकको भेटेरीनरी डाक्टरलाई जानकारी गराउने र खुल्ला हातले बिरामी वा मरेका कुखुरा नछुने ।

प्रकाश अधिकारी /कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय

-फार्म नेपाल बाट