काठमाडौँ । हिन्दू धर्मालवीहरुको महान चाड दशैंमा घरघरै खसीबोका काट्ने प्रचलनका कारण उपत्यका सहित देशभर यस चाडमा खसी बोकाको माग ह्वात्तै बढ्ने गर्छ । उपभोक्ताले दशैंमा मन खोलेर खसीबोका, भेडाच्यांग्रा किन्ने गर्दै आएका छन् ।

विशेष त दशैंलाई लक्ष्य गरेर व्यापारीले मुलुकका विभिन्न जिल्लासहित भारतबाट समेत उपत्यकामा खसीबोका ल्याउने गरिन्छ । विगतका बर्षहरुमा भन्दा यस वर्षको दशैंमा खसीबोकाको मूल्यमा वृद्धि हुने संकेत देखिएपछि उपभोक्ताहरुका लागि दशैं महंगो बन्ने अवस्था समेत देखिएको छ ।

बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा माग अनुसार खसीबोका भित्रि नसक्ने अवस्थाका कारण मूल्य बढ्ने संकेत देखिएको हो । दशैंमा खसीबोकाको खपत धेरै हुने र सोही कारण माग अनुरुप आपूर्ति हुन नसने मूल्य बढ्ने संकेत देखिएको व्यवसायीको भनाइ छ । अहिलेदेखि नै बजारमा खसीबोकाको मूल्य बढ्न थालेको छ । चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष एवं व्यवसायी दीपक थापाले बजारमा खसीबोकाको आयात कम हुँदा मूल्य बढ्न थालेको बताए ।

दशैंमा खपत धेरै हुने भएकाले स्थानीय उत्पादनले माग धान्न नसक्दा ८० प्रतिशत खसीबोका छिमेकी मुलुक भारत र तिव्वतबाट भेडा च्याङ्ग्रा आयात हुनेगर्छ । व्यवसायीले मुस्ताङबाट च्याङ्ग्रा र अन्य विभिन्न जिल्लाबाट खसीबोका उपत्यकामा ल्याउने गर्छन् । गत वर्ष दशैंमा ४८ हजार खसीबोका खपत भएको थियो । दशैंमा खसीबोका खरिद गर्न बर्षेनी ८ अर्ब रुपैयाँ बाहिरिने गरेको पूर्वअध्यक्ष थापाले जानकारी दिए ।

यसबर्षको दशैमा व्यवसायीहरुले भारतकोे लखनऊ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायत ठाउँबाट लाम्काने र जमुनापारी जातका ३० हजार खसीबोका भित्र्याउने तयारी गरिएको छ । यसरी भारतबाट बर्षेनी खसीबोका भित्रिदा करोडौ रुपैयाँ वाहिरिने गर्दै आएको छ । मुलुकलाई खसीबोकामा आत्मनिर्भर बनाएर बाहिरिने ठूलो रकम रोक्ने विकल्प खोज्न आवश्यक भइसकेको छ ।