काठमाडौं। गुणस्तरहीन भर्मिक कम्पोस्ट मल भिडाएर राज्यको करोडौं रकम असुल्ने व्यापारीको योजना तुहिएको छ। गुणस्तहीन वस्तु भिडाएर सरकारी रकमको दुरुपयोग कसरी हुन्छ, भन्ने गतिलो उदाहरण यो मल प्रकरण बन्न पुगेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल उत्पादक माफियाको मिलोमतोमा खरिद हुन लागेको भर्मिक कम्पोस्ट मल अन्ततः गुणस्तरहीन भेटिएको छ।

 

टेन्डर रद्दसँगै मल माफियाले मल बिक्री गरेबापत राज्यबाट असुल्ने भनेको पाँच करोड ७२ लाख रुपैयाँ पनि दुरुपयोग हुनबाट जोगिएको छ।

भर्मिक कम्पोस्टका लागि कृषि विकास मन्त्रालयले तोकेको मापदण्डविपरीत मल भेटिएपछि कृषि सामग्री कम्पनीले मल खरिद गर्ने टेन्डर असार २६ गते रद्द गरेको छ। टेन्डर रद्दसँगै मल माफियाले मल बिक्री गरेबापत राज्यबाट असुल्ने भनेको पाँच करोड ७२ लाख रुपैयाँ पनि दुरुपयोग हुनबाट जोगिएको छ। परियोजनाले दुई हजार मेट्रिक टन भर्मिक कम्पोस्ट मल खरिद गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनीलाई दिएको थियो। परियोजनाले असारको अन्तिम सातामै खरिद गरी सोही सातामा उक्त परिमाणको मल खपत गर्ने योजना अघिसारेको थियो।

मल आपूर्ति गर्ने कम्पनी चितवनको दिव्या फर्टिलाइजरले कृषि सामग्री कम्पनीमा आफ्नो मल भर्मिक कम्पोस्ट मल सरकारले तोकेको मापदण्डभित्रै रहेको भनेर टेन्डर भर्ने समयमा प्रतिवेदन बुझाएको थियो। तर, मल खरिद गर्ने सम्झौताको अन्तिम चरणमा दिव्याले बुझाएको मलको नमुना परीक्षण गर्दा मापदण्ड विपरीत अवस्थामा भेटियो।

स्रोतका अनुसार भर्मिक कम्पोस्ट मलमा नाइट्रोजन कम्तीमा दुई प्रतिशत र चिस्यान बढीमा ४० प्रतिशतभित्र हुनुपर्ने कृषि विकास मन्त्रालयले निर्धारण गरेको मापदण्डमा छ। तर, उक्त मल परीक्षण गर्दा नाइट्रोजन १.७१ प्रतिशत र चिस्यान ४४ देखि ५४ प्रतिशतसम्म भेटिएको थियो। मलको नमुना नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थित माटो विज्ञान महाशाखामा परीक्षण गरिएको थियो। मलको टेन्डर रद्द गरेपछि उक्त रकम पनि फ्रिज भएको छ। ‘चितवनको दिव्या अर्गानिक फर्टिलाइजरको भर्मिक कम्पोस्ट मल मापदण्ड विपरीत भेटिएकाले सम्झौता नगरी टेन्डर नै रद्द गर्‍यौ’, कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक अमर खैरले भन्नुभयो।

यो रणनीतिलाई मूर्तरुप दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन कृषिमन्त्री गौरिशंकर चौधरी र सोही मन्त्रालयका सहसचिवदेखि सचिवसम्मको मिलोमतो थियो।

असार २५ गते कृषि सामग्री कम्पनीले सम्झौता हुन लागेको टेन्डर रद्द गरेको हो। स्रोतका अनुसार दिव्या अर्गानिक फर्टिलाइजरले गुणस्तरहीन मल भिडाएर राज्यबाट ठूलो रकम दोहण गर्ने रणनीति तयार पारेका थिए।

यो रणनीतिलाई मूर्तरुप दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन कृषिमन्त्री गौरिशंकर चौधरी र सोही मन्त्रालयका सहसचिवदेखि सचिवसम्मको मिलोमतो थियो। भर्मिक कम्पोस्ट मलको टेन्डर दिव्या फर्टिलाइजरलाई नै जसरी पनि पार्नुपर्ने चर्को दबाब यस्तो समूहबाट कृषि सामग्री कम्पनीलाई परेको थियो। पूर्वप्रधानमन्त्री दाहालनिकट मानिने व्यवसायी नरेन्द्र गिरीको दिव्या फर्टिलाइजरलाई मल खरिद गर्ने जिम्मेवारी दिनुपर्ने ठूलो दबाब असार २१ गतेसम्म परेको थियो। दबाबका कारण कृषि समाग्री कम्पनीमा भर्मिक कम्पोस्ट मल बिक्री गर्न चाहने अन्य कम्पनीको टेन्डर निवेदन अस्वीकृत गरी दिव्याको स्वीकृत गरेको थियो।

दिव्यासँग प्रतिकिलो २६ रुपैयाँका दरले खरिद हुने यो मल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई अनुदानमा प्रतिकिलो सात रुपैयाँमा बिक्री गर्न खोजेको थियो।

परियोजनाले खरिद गर्न लागेको यो मलमध्ये झापामा पाँच मेट्रिक टन, पाँचथरमा १० मेट्रिक टन, सिन्धुलीमा एक सय २५ मेट्रिक टन, चितवनमा सय मेट्रिक टन, जुम्लामा सय मेट्रिक टन, पूर्व मन्त्री चौधरीको गृह जिल्ला कैलालीमा एक हजार ६ सय २० मेट्रिक टन, कञ्चनपुर र उदयपुरमा २०/२० मेट्रिक टन भर्मिक कम्पोस्ट मल वितरण गर्ने योजना तयार पारेको थियो।

शाभार : न्यूज एग्रो बाट