काठमाडौं। बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ । बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए। पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिने आजको गोरखापत्रमा छापिएको छ ।

जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिए । सरकारले जेठ १५ गते जग्गा अधिग्रणको सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।

पूरा चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन ९डीपीआर० तयार भइसकेको जानकारी दिँदै उनले जग्गा अधिग्रहणको काम यसै हप्ताभित्र सम्पन्न हुने बताए । जग्गा अधिग्रहणपछि उपभोक्ता समिति गठन गरेर निर्माण कार्यलाई अगाडि बढाइनेछ । बढीमा असोजको पहिलो हप्तादेखि यस खण्डको निर्माण सुरु हुने जानकारी उनले दिए ।

चक्रपथ निर्माणका लागि सडकको दुवै छेउबाट जग्गा एकीकरण प्रक्रियामार्फत २५०/२५० मिटर जग्गा प्राप्त गरिनेछ, यस प्रक्रियाबाट जग्गा प्राप्त गरिँदा कोही पनि विस्थापित नहुने तथा सरकारले जग्गाको मुआब्जा पनि दिनु पर्दैन । जग्गा एकीकरण कार्यलाई सहज बनाउन यस खण्डलाई ६ वटा इलाकामा विभाजन गरिएको छ भने प्रत्येक इलाकालाई विभिन्न ब्लक र प्रत्येक ब्लकलाई विभिन्न टोलमा विभाजन गरिएको छ । यस क्षेत्रमा ३८ वटा ब्लक र ५५६ वटा टोल प्रस्ताव गरिएको छ ।

प्रत्येक इलाकामा चक्रपथको लम्बाइ करिब एक किलोमिटर हुनेछ। यस क्षेत्रमा कीर्तिपुर र चन्द्रगिरी नगरपालिका परेको छ । त्यसैगरी, हरेक घडेरीले न्यूनतम २० फिट र अधिकतम ५० फिट बाटो पाउनेछन् ।

हरेक जग्गाधनीले दामासाहीको आधारमा जग्गा प्राप्त गर्नेछन् । ‘ल्यान्डपुलिङ’ सिद्धान्तका आधारमा जग्गा एकीकृत गरेर त्यसलाई विकास गरेपछि वितरण गरिने भएको हुनाले कोही पनि विस्थापित नहुने र सबैलाई न्यायोचित वितरण हुने शाखा अधिकृत सापकोटाले बताए ।

बाहिरी चक्रपथ काठमाडौंमा ३५ दशमलव आठ किलोमिटर, ललितपुरमा १५ दशमलव आठ किलोमिटर र भक्तपुरमा २१ दशमलव पाँच किलोमिटर दूरी पर्नेछ। काठमाडौँमा बाहिरी चक्रपथले चोभार, गाम्चा, सतुङ्गल, नैकाप, पुरानो भज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोङ्गबु, टोखागाँउ, चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछीलाई जोड्नेछ। त्यसैगरी ललितपुरमा लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैब, धापाखेल, ठेचो, छम्पी, बुङ्मती र खोकनालाई जोड्नेछ ।

भक्तपुरमा चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर, कटुन्जे, मध्यपुर नगरपालिका, दधिकोट र सिरुटारलाई चक्रपथले जोड्ने शाखा अधिकृत सापकोटाले जानकारी दिए ।