काठमाडौं। तीन वर्ष अघिदेखि सरकारले किसानलाई सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको छ । सुरुका वर्ष ऋणको सिमा १ करोड रुपैयाँ सम्म थियो । तर गएको चैतदेखि सरकारले पाँच प्रतिशत ब्याजमै ७ करोड रुपैयाँसम्म कृषि ऋण दिने व्यवस्था गरेको छ ।

सस्तो ब्याजको ऋण बैंक तथा वित्तीय संस्थाबाट लिन सकिन्छ । ब्याज बाहेक किसानले अरु कुनै पनि शुल्क तिर्नु पर्दैन । नेपाल राष्ट्र बैंकले २०७३ को चैतमा ‘व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी’ कार्यविधि जारी गरेपछि व्यावसायिक किसानले बैंकबाट ऋण लिन सक्ने भएका हुन् ।

सरकारले कार्यविधिमार्फत् कृषि र पशुपालन व्यवसाय प्रवद्र्धन गर्न किसानलाई पाँच प्रतिशत ब्याज दरमा सात करोड रुपैयाँ सम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

कसरी लिने ऋण ?

लगानीविना व्यवसाय गर्न सकिंदैन । त्यसैले कतिपयले आफन्त, छरछिमेकी जस्ता अनौपचारिक क्षेत्रबाट ऋण ल्रिदै आएका छन् । बैंक तथा वित्तिय संस्थाबाट लिने ऋणका लागि निश्चित प्रक्रिया पूरा गर्नुपर्छ ।

बैंकले कृषि कर्जा दिंदा ब्याज साँवा फिर्ता आउने सुनिश्चितता भएपछि मात्रै दिन मञ्जुर हुन्छन् । त्यसैले कृषि व्यवसाय गर्न चाहनेले व्यवसायको योजना, स्थानीय तहमा रहेका सेवाकेन्द्र र प्राविधिकसँग सरसल्लाह गरेर अगाडी बढ्न आवश्यक छ भन्नुहुन्छ, कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटा । यसअघि नै बैंकसँग कारोवार गर्नेलाई ऋण लिने प्रक्रिया सहज छ ।

नयाँ किसानले पनि आफूले गर्न सक्ने खालको व्यवसायको परियोजना लिएर बैंकमा जान सक्छन् । निवेदन दिनुपर्छ । अनि बैंकलाई तपाईको व्यवसायप्रति विश्वास लागेपछि कर्जा उपलब्ध गराउँछ । र समयमा नै कर्जा चुक्ता गरे अन्य थप कर्जा पनि बैंकहरुले दिन्छन् ।

धितो लेखाजोखा गरी ५ करोड रुपैयाँ बैंकले नै दिन सक्छन्

बैंक तथा वित्तीय संस्थाले पाँच करोड रुपैयाँ सम्मको कर्जा आफैंले दिन सक्छन् । यो भन्दा बढिको ऋण प्रवाहका लागि राष्ट्र बैंकका डेपुटी गर्भनरको संयोजकत्वमा केन्द्रीय समन्वय तथा अनुगमन समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

व्यावसायिक कृषि र पशुपन्छीपालन गर्न चाहने किसान र व्यवसायीले ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको विकास बैंक र ‘ग’ वर्गको फाइनान्स कम्पनीबाट पाँच प्रतिशत ब्याजमा सहुलियत ऋण लिन पाउने व्यवस्था छ ।  तर बैंक तथा वित्तीय संस्थाले धितो विना ऋण दिंदैनन् । त्यसैले कृषि व्यवसाय गर्ने किसान र व्यवसायीले परियोजना सञ्चालन गर्न लागिएको जमिनलाई पनि धितोमा राखेर ऋण लिन पाउने व्यवस्था छ ।

कृषिबालीलाई धितोमा राखेर सामूहिक जमानीमा १० लाख रुपैयाँसम्म ऋण लिन पाइनेछ । बाली धितोमा ऋण लिनेले आफ्नो कृषि बालीको बिमा समेत गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता सापकोटाले बताउनुभयो ।

कुन कुन व्यवसायका लागि पाइन्छ ऋण ?

व्यवसायिक रुपमा तरकारी/फलफूल, पशुपन्छी/माछा पालन, जडिबुटी, दुग्ध व्यवसाय, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले ऋण दिने गरेको छ ।

तरकारी, बिउबिजन उत्पादन, प्रशोधन तथा भण्डारण, बिक्री वितरण, पुष्प व्यवसाय, पशुपन्छी पालन, मासु तथा अण्डाको भण्डारण तथा प्रशोधन तथा बिक्री वितरण, फलफूल उत्पादन, उत्पादित फलफूलको प्रशोधन तथा भण्डारण, बिक्री वितरण, दुग्ध उत्पादन, प्रशोधन तथा बिक्री वितरण, पशुवधशाला, जडिबुटी, उखु, कफी, चिया, अलैँची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो, लोक्ता खेती तथा यसको भण्डारण तथा प्रशोधन र बिक्री वितरण, मौरी पालन व्यवसाय, जौ, फापर, सिलाम, उत्पादन, प्रशोधन तथा बिक्री वितरणका लागि ऋण लिन सकिन्छ । कृषि मन्त्रालयका सहप्रवक्ता सापकोटा युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायन हुनबाट रोक्न कृषि ऋण प्रभावकारी हुने बताउनुहुन्छ ।

दुरुपयोग भए ब्याज सहुलियत पाईंदैन

सहुलियत ब्याजमा लिएको ऋणको ब्याजदर पाँच प्रतिशत भन्दा बढी लिन नपाइने र सुरुमा तय भएको ब्याजदर पछि बढाउन पनि नपाइने व्यवस्था गरिएको छ । तर, न्यूनतम सीमा सरकारले आवश्यक परे परिमार्जन गर्न सक्छ । जे कामका लागि भनेर ऋण लिएको हो, त्यो काममा प्रयोग नभएको पाइएमा ऋणीले ब्याज अनुदान सहुलियत नपाउने व्यवस्था पनि गरिएको छ ।

कसरी तिनुपर्छ ?

किसानले ऋण लिएको तीन महिनामा एक पटक ब्याज तिर्नुपर्छ । पाँच बर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्छ । तर, विशेष खालको परियोजनाका लागि लिइएको ऋण भने परियोजनाको बनोट अनुसार दुई वर्ष म्याद थप्न सकिने व्यवस्था छ ।

उज्यालो बाट