बिभिन्न बाली बिरुवाको कलिलो अबस्थामा पात र डांठ आदिलाई खनजोत गरी माटोमा मिलाई त्यसलाई कुहाएर मलको रुपमा माटोको उर्बरापन र भौतिक अबस्था सुधार गर्न प्रयोग गर्ने प्रबिधिलाई हरियो मल प्रबिधि भनिन्छ ।

बिभिन्न बालीहरु मध्ये कोसेबालीले हरियो मलको रुपमा माटो सुधार गर्नको लागी महत्वपूर्ण स्थान ओगटेको छ । यस बालीले प्रति इकाई क्षेत्रफल बाट राम्रो आम्दानी दिनुका साथै माटोमा नाईट्रेजन यूक्त खाद्य तत्व उपलव्ध गराउन निकै सरिकहुन्छ । यस्को साथै बालीहरुमा कीराहरुको आक्रमण बाट पनि निकै हद सम्म बचाउन मद्धत गर्दछ । यो बालीले माटोमा बायूमण्डलिय नाईट्रेजन संगाल्ने काम गरी माटोको उर्बरताशक्ती बढाउने काम गर्दछ ।

बिषेश गरेर तपसिलका कोसे बालीहरु लगाउनाले माटोमा प्रति बर्ष प्रति हेक्टर (२० रोपनी जग्गा) मा भटमासको खेती बाट अधिकतम १६८ के.जी, मसुरा खेतीे बाट अधिकतम ११४ के.जी, चनाको खेती बाट अधिकतम १०३ के.जी, केराउ खेती बाट अधिकतम ७७ के.जी, बोडीहरुको खेती बाट अधिकतम ७० के.जी, मास तथा मुंगको खेती बाट अधिकतम ३४२ के.जी, नाईट्रेजन तत्व माटोमा सन्चय गरी दिन मद्धत गर्दछ ।

हरियो मलः–

सजिलै संग कुहिने (बालीहरुको अबशेष बाहेक) बिरुवाको बीउ लाई जमिनमा छरी उम्रेका ती बिरुवाहरुलाई माटोमा पल्टाई मलको काम लीने बिधिलाई हरियो मलको प्रयोग भनिन्छ । यस्ता बीउहरु बिषेश गरेर बीउ हरियो मलको लागी भनि छरिने काम गरिन्छ वा अन्य जमिन बाट ल्याएर पनि प्रयोग गरिन्छ । अर्को अर्थमा हरियो मल भन्नाले हरियो अबस्थामा बिरुवाहरु लाई माटोमा पल्टाई माटोको अबस्था सुधार्ने कार्य तथा बिधि लाई भनिन्छ ।
हाम्रो देशमा माटोको अबस्था सुधार गर्नको लागी केहि कृषकहरुले धान बालीको लागी हरियो मलको प्रयोग गर्ने प्रचलन शुरुआत गरी सकेका छन् । हाल सम्म प्रयोगमा आएका तथा सजिलै संग उपलव्ध हुन सक्ने हरियो मल निम्न प्रकारका छन् ।
१.ढैंचाः– यस्का जातहरुमा सेस्वानिया क्यानाबिना र सेस्वानिया रोस्ट्रटा हुन् ।
२.  सन्हेम्प ( सनई )ः– यस्का जातमा क्रोटोलेरिया जुन्सिया हो ।
३.  एजोलाः– यस्का जातमा एजोला पिन्नाटा हो ।
४.  स्थानिय हरियोमलः– (क) असुरो (ख) तितेपाती (ग) खिर्रा (घ) शिरिस
(ङ) बनमारा आदि ।

१.  ढैंचाः–

बिभिन्न हरियो मलको रुपमा प्रयोग गरिने बिरुवाहरुको तुलनामा ढैंचामा हरियो पदार्थको परिमाण धेरै हुन्छ । यसमा धान बालीको लागी असल पोषक तत्वहरु हुनुका साथै माटोको अबस्थामा सुधार ल्याउने गुणहरु हुन्छन् । धैंचाको बिरुवा खेतमा पल्टाउने बेलामा एक पटक सिचाई दिन सकिएको खण्डमा धानको उत्पादन बढ्दछ ।
यो एक कोसे बाली भएको हुनाले यस्को जरामा नाईट्रेजन यूक्त तत्व सन्चय गर्ने भएको हुनाले अर्को बालीको लागी ज्यादै लाभदायक सिद्ध छ । नेपालमा गरिएको अनुसन्धान अनुसार हरियो मलको रुपमा धैंचालाई पूर्व धानखेतीमा प्रयोग गर्दा २० देखि २५ प्रतिशत सम्म धानको उत्पादन बृद्धि भएको छ । यस्को जरा तथा हांगाबिंगाहरुमा समेत गिर्खाहरु हुने सेस्वानिया रोस्ट्रटाको पत्ता लागेपछि हरियो मल प्रतिको उत्साह बढ्दै गएको पाईन्छ ।

सेस्बानिया रोस्ट्राटा ढैंचाका गुणहरुः–
(क) डांठ र हांगाहरुमा बायूमण्डलिय नाईट्रेजन स्थिरीकरण गर्न सक्ने राईजोविया व्याक्टेरियाहरु भएका गिर्खाहरु पाईन्छन् ।
(ख) बीउ उत्पादन गर्दा अरु जातको ढैंचा भन्दा दुई गुना बढी बीउ उत्पादन हुन सक्दछ । यसका बिरुवाहरुको डांठ बारबन्देजको लागी र लकता डोरी बनाउनको लागी तथा पातहरु गाईबस्तुको चाराको लागी उपयोगी हुन्छ ।
(ग) यस जातको ढैंचाले प्रति रोपनी १३ कीलो नाईट्रेजन उपलव्ध गराउन सक्दछ ।
(घ) यस जातको ढैंचाले जमेको पानी एबम् सुख्खा दुबै बाताबरण खप्न सक्दछ ।
(ङ) यो जातको ढैंचा कुनै पनि प्रकारको माटोमा लगाउन सकिन्छ ।
(च) यो जातको ढैंचा लगाउने सिजन अरु जातको ढैंचा जस्तै चैत्र महिनाको शुरुआत देखि बैशाख महिनाको अन्त सम्ममा लगाउन सकिन्छ । ( गहुं बाली काटी सकेपछि बर्षे धान रोपाई गर्ने बिचको अबधि )
(छ) हरियो मलको लागी बीउ दर प्रति रोपनी १.५ कीलोग्राम चाहिने हुन्छ भने बीज उत्पादन गर्नको लागी ०.५ कीलोग्राम प्रति रोपनी प्रयाप्त हुन्छ । एक रोपनी जग्गामा बीउ उत्पादन गर्दा १०० के.जी सम्म बीउ उत्पादन गर्न सकिन्छ ।
ढैंचालाई धान बालीमा प्रयोग गर्दा धान को रोपाई गर्नु भन्दा एक हप्ता अगाबै ढैंचाको कलिलो बिरुवालाई माटोमा पल्टाउनु पर्दछ । जहिले पनि ढैंचा मलको रुपमा प्रयोग गर्दा फुल फुल्नु भन्दा अगाडी पल्टाई सक्नु पर्ने कुरा पटक्कै भुल्नु हुंदैन ।

२.  एजोलाः–

एजोला पानीमा हुने एक किसिमको फर्न हो । यो साधारणतया दलदले जमिन, नदीनाला, नहर आदि स्थानहरुमा पाईन्छ । बिषेश गरेर धानको रोपाई भन्दा अगाडी र धानको रोपाई पछि पनि यस्को प्रयोग गर्न सकिन्छ ।

हरियो मलहरुमा पाईने पोषक तत्वहरुः– प्रतिशतमा

बिरुवाको नाम         नाईट्रेजन          फस्फोरस          पोटास

(क) ढैंचा                   ३.५                    ०.६                १.२
(ख्) सन्हेम्प               २.३                    ०.५                १.८
(ग) शिरिस                 २.८९                ०.६५              २.५९
(घ) असुरो                  ४.३                  ०.८८               ४.४९
(ङ) तितेपाती             २.४०               ०.४१                ४.९०
(च) खिर्राे                    २.७                ०.७९                २.८९
(छ) बनमारा               २.३६               ०.६७               ३.९८
(ज) एजोला                 ४.५                १.६                   १.००

अन्य हरियो मलको रुपमा :  सिमि, बोडी, चना, मुङ्ग, मसुरो तथा ल्कोभर आदि पनि धान बालीमा हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ, बाली लगानी बढी हुन जाने भएको हुनाले प्रचलनमा आएको छैन ।
हरियो मलको खेती गर्ने तरिकाः–

(क) ढैंचाः एक सिजन मात्र उमारिने, बर्षामा अन्तर बाली हुने ।

(ख) सन्हेम्पः बर्षामा क्याच््क्रपका रुपमा लीन सकिने ।

ग) एजोलाः २० दिन सम्म धानको रोपाई गर्नु अगाडी लिईने, ३० दिन सम्म धानको रोपाई गर्नु अगाडी लिईने, २० दिन सम्म धान बालीमा अन्तर बालीको रुपमा लीन सकिने तथा ४० दिन सम्म धान बालीमा अन्तर बालीको रुपमा लीन सकिने हुन्छ ।
बिभिन्न दलहन बालीले माटोमा उपलव्ध गराउने नाईट्रोजनको मात्राः–
**गहत बाली बाट ४५–५५ के.जी प्रति हेक्टर ।
** केराउ बाली बाट ५२–७७ ,, ,, ।
**भटमास बाली बाट ६०–१६८ ,, ,, ।
**चना बाली बाट १०३ ,, ,, ,, ।
**बोडी बाली बाट ७३–३५४,, ,, ,, ।
** मुङ्ग बाली बाट ६३–३४२,, ,, ,, ।
**मसुरो बाली बाट ८८–११४,, ,, ,, ।
**रहर बाली बाट १६८–२८०,, ,, ,, ।
** ढैंचा बाली बाट ८०–१५०,, ,, ,, ।
**सिमी बाली बाट ४०–७०,, ,, ,, ।
**बदाम बाली बाट ४५ ,, ,, ,, ।

यूबा कृषि बाट साभार

फोटो साभार :यूबा कृषि