
तुलसीपुर । दाङमा धमाधम मकै लगाउने क्रम चलिरहेको छ । यसअघिको वर्षा संगै धेरैले मकै लगाइ सकेका छन् । छुटेकाहरुले पछिल्लो वर्षा पछि मकै रोप्दै छन् । र त्यो करिव अन्तिम चरणमा पुगेको छ । त्यसपछि अब किसानको ध्यान मुख्यवालि धानमा केन्द्रित भएको छ । उनीहरुलाई यतिबेला व्याड राख्ने चटारो छ । त्यसैलाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालय दाङले ११ प्रकारका धानको विउ यो वर्ष सिफारिस गरेको छ ।
यो वर्ष दाङमा सुख्खा १ देखि ६, राधा – ४, विन्देश्वरी, सावित्री, हर्दिनाथ – १ , सावाँ मसुली, स्वर्ण शव – १ गरि ११ जातका धानका विउहरु लगाउनका लागि सिफारिस गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका माटो विज्ञ दिगम्वर यादवले जानकारी दिए ।
पानी प्रयाप्त हुने ठाउँमा कुन धान लगाउने ?
उनले पानी प्रर्याप्त हुने ठाउँमा सुख्खा १, सावाँ मनसुली, सावाँ शव, स्वर्ण शव, विन्देश्वरी , सावित्री, लोकनाथ, र भारतीय प्रजातिको गोरक नाथ जस्ता धानहरु लगाउनका लागि किसानलाई आग्रह गरिएको बताए । त्यस्तै आकाँसको पानी तथा कुलोका पानीको सिंचाईको प्रवन्ध भएको स्थानमा सुख्खा २ देखि सुख्खा ६ सम्मको धान लगाउने माटो विज्ञ यादवले सल्लाह दिएका छन् । उनले व्याड राखेको २५ दिन भित्रै खेतमा धान रोप्दा राम्रो हुने जानकारी दिए । अहिले व्याड राख्ने उत्तम समय रहेको र अहिले व्याड राखेकाहरुले असार १५ सम्म रोपाई गर्दा राम्रो हुने जिल्ला कृषि विकास कार्यालयका माटो विज्ञ यादवले बताए ।
माटोको उर्वरा शक्ति बढाउन पोटास प्रयोग गर्न सल्लाह
दाङमा अत्यधिक रुपमा यूरिया र डिएपी जस्ता रासायनिक मलहरुको प्रयोगले माटोको उर्वरा शक्ति न्यून भएको माटो विज्ञ यादवले बताए । क्षिण हुँदै गएको माटोको उर्वरा शक्ति बढाउनका लागि प्रति कठ्ठा डेढ केजी सम्म पोटास प्रयोग गर्न जरुरी रहेको कृषि कार्यालयका माटो विज्ञ यादवले बताए । माटोमा पोटासको मात्रा कम हुँदा प्रति कठ्ठा १५ प्रतिसत जतिले उत्पादनमा ह्रास आउने गरेको उनले बताए ।
माटो विज्ञ यादवले पोटासको कमिले धानको गुणमा समेत ह्रास आउने भएकोले यूरिया र डिएपीका साथसाथै अनिवार्य रुपमा तोकिएको मात्रामा पोटास प्रयोग गर्नुपर्ने सल्लाह दिए । ‘ यूरिया र डिएपीको वढी प्रयोगले माटोको उर्वरा शक्ति मात्रै ह्रास भएको छैन , बालिमा रोग र किराको प्रयोग समेत फैलिने खतरा उत्पन्न हुन्छ ।’ कृषि कार्यालयका माटो विज्ञ यादवले थपे ‘ पोटासले मात्रै त्यो सन्तुलन कायम गर्न सक्ने हुँदा पोटासको प्रयोग अनिवार्य हुन्छ ।’ यादवले दाङमा ६९ हजार हेक्टर खेति योग्य जमिन भएतापनि हाल जम्मा ३८ हजार हेक्टरमा मात्रै धान खेति हुने गरेको जानकारी दिए ।
दाङमा मसिनो धानको विकासगर्न अनुदानमा विउ वितरण
मसिनो धान तथा बास्नादार धान उत्पादन कार्यमा सघाउ पुगोस भनेर जिल्ला कृषि विकास कार्यालय दाङले ७५ प्रतिशत अनुदानमा किसानलाई धान बिक्रि वितरण गरेको यादवले बताए । उनले यो वर्षाका लागि कार्यालयले २५ मेट्रिक टन धानको विउ अनुदानमा किसानलाई बिक्रि गरेको जानकारी दिए । माटो विज्ञ यादवले कार्यालयले सिफारिस नगरेका र हाइब्रिड जातको धानको बिउ प्रयोग नगर्न किसानलाई सचेत तुल्याएका छन् ।
मसिनो धानको विउ उत्पादान गर्ने लक्ष्य अन्तगत ७५ प्रतिसत अनुदानमा २५ मेट्रिक टन धान वितरण गरिनुको मुख्य उदेश्य दाङलाई मसिनो धानको पकेट क्षेत्रका रुपमा विकास गर्ने र मसिनो धानको भारतीय आयात घटाउने उदेश्य रहेको जानकारी यादवले दिएका थिए । उनले दाङमा मसिनो धानको उत्पादनको संभावना अति नै राम्रो हुने भएकोले अब विस्तारै मोटो धानको विउ सिफारिस वन्द गरिने बताए ।
यसैबीच जिल्ला कृषि विकास कार्यालय दाङले विभिन्न कार्यक्रम अन्र्तगत जिल्लाका किसानहरुलाई ३ सय ५१ क्वीन्टल धानको विउ वितरण गरेको जनाएको छ ।
वितरण गरिएको विउ धानमा खाद्यन्न उत्पादनमा वृद्धिका साथै मुलविउ उत्पादनका लागि समेत धानको विउ वितरण गरिएको यादवले बताए ।
वितरीत विभिन्न जातका विउ धान अनुदानमा २ सय ५० क्वीन्टल र ८० क्वीन्टल विउ धान प्रदशनमा राखिएको यादवले बताए । कार्यालयले खाद्यन्न उत्पादनमा मसिना तथा वासनादार धानखेति कार्यक्रम अन्र्तगत २ सय ५० क्वीन्टल धानको विउ किसानहरुलाई ७५ प्रतिशत अनुदानमा उपलब्धगराएको जनाएको छ ।