काठमाडौं । खाद्यन्नमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी स्तरबाट गरिएको प्रयास असफल देखिएको छ । सरकारले कृषि विकास मन्त्रालयबाट खाद्यन्नमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयास गरेपनि त्यो अपर्याप्त रहेको पाइएको हो ।

हालै मात्र सार्वजनिक गरिएको तथ्यांकमा, नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष ०७३/७४ को आठ महिनाको अवधिमा मात्रै ६ अर्ब ६९ करोड ३५ लाख ६५ हजार मूल्य बराबरको खाद्यनन आयात भएको छ ।

क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार तरकारी, फलफूल, खाद्यन्न, जडिबुटीसहित उक्त मूल्य बराबरको सामान आयात भएको हो ।

कार्यालयका अनुसार भारतबाट चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म तरकारी, मकै, प्याज र घाँसको बीउ बिजन ३९ लाख २८ हजार, बोटबिरुवा ७ हजार, ताजा तरकारी २४ करोड ४५ लाख ७५ हजार, ताजा फलफुल १८ करोड १३ लाख २५ हजार मूल्य बराबरको आयात भएको छ ।

यस्तै गहुँ, मकै जौ ८६ करोड ७४ लाख ९५ हजार, चामल, दाल, पिठो, सोया ४ अर्ब १५ करोड १३ लाख ७५ हजार र चना, मटर, मास, मुग, राज्मा दाल छ करोड ८ लाख १५ हजार मूल्यको आयात भएको छ ।यस्तै, तोरी र बदामको तेल ३६ करोड ६१ लाख २३ हजार, आलु ८० करोड ९२ लाख ३१ हजार र लसुन ९६ लाख ८८ हजार मूल्यको आयात भएको छ ।

क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख थमनबहादुर कार्कीका अनुसार नेपालबाट ५४ करोड ११ लाख ७४ हजार मूल्य बराबरको खाद्यन्न, जडिबुटी निकासी भएको छ।

नेपालगन्ज भन्सार हुँदै भारततर्फ प्रशोधित पिठो २७ लाख तीन हजार, पिना, चुन्नीभुसा १४ करोड ७१ लाख ८८ हजार मूल्यको निकासा भएको छ ।

यस्तै, वनपैदावर जडिबुटी ३५ करोड ४३ लाख ४९ हजार, दालचिनी, तेजपात ३ करोड ५३ लाख दुई हजार र प्रशोधित सुठो १६ लाख ३२ हजार मूल्य बराबरको निर्यात भएको छ ।

भारतबाट आयात हुने खाद्यन्न, तरकारी, फलफुल र जडिबुटी भन्दा नेपालबाट जम्मा दुई प्रतिशत मात्र निर्यात हुँदै आएको छ ।त्यस्तै अन्य नाका हुदै खाद्यन्न उस्तै आयत गरिएको छ । यसले नेपालको प्रयास अपर्याप्त रहेको प्रष्ट देखिन्छ ।