काठमाडौँ। कृषिमन्त्री गौरीशंकर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल कृषि केन्द्रीय  सहकारी संघले काठमाडौँमा आज आयोजना गरेको किसानको पोको बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने जोड दिएका हुन् ।

कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।
अन्नबालीमा मुरली मकै, पुराना रैथाने जातका धान, कोदो, फापर, जुनेलो, सिलम, अदुवा, राजमा, चना, आलस, टाटेसिमी, मस्याङ्, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत सहकारीमार्फत संरक्षण गरी बिक्री वितरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

पछिल्लो पटक नेपालमा भित्रिएका बहुर्रा्ष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसङ्ख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने भनाइले स्थानीय जातको बीउबिजनको सट्टामा बहुर्रा्ष्ट्रिय कम्पनीका बीउबिजन भित्रिएका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले भूमिहीन सीमान्तकृत र कृषि मजदुरका हातमा खेतियोग्य जमिन नहुन्जेल कृषिको दिगो विकास असम्भव रहेको बताए ।