इटहरी। सुनसरीको इटहरीमा देखा परेको बर्डफ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पंक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो ।

नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच ५ एन ८ रहेको जिल्ला पशु सेवा कार्यालय सुनसरीले जनाएको छ । यसअघि नेपालमा बर्ड फ्लुको एच ५ एन १ भाइरस देखिँदै आएको थियो ।

जिल्ला पशु सेवा कार्यालय सुनसरीको प्रमुख शिब नाथ महतोले इटहरीमा फेला परेको बर्ड फ्लु नयाँ प्रजातीको भाइरस रहेको बताए । इटहरीमा देखिएको जस्ताे  भाइरस अहिले सम्म नेपालमा देखिएको थिएन ।

यो प्रजातीको भाइरसले धेरै पंक्षीहरु मर्ने देखिएको भन्दै महतोले यो मानिसमा पनि छिटो सर्ने खतरा हुने बताए ।यो भाइरससँग अत्यन्त बढी साबधानी अपनाउनु पर्ने समेत बताए । अहिले इटहरी क्षेत्रबाहेक सुनसरीको कोशी टप्पु क्षेत्र, इनरुवा र तालतलैया आसपासबाट परिक्षणका लागि थप कुखुरा र पंक्षी परिक्षणका लागि पठाइएको छ ।

दुई साताअघि पोखरामा देखिएको बर्ड फ्लु भाइरस भने पुरानै प्रजातिको भाइरस हो । नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन (ओआई) ले र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सतर्क रहन चेतावनी दिएका छन् ।

यता सुनसरीको इटहरी क्षेत्रमा बर्ड फ्लुको संक्रमण फैलादाँ समेत यसमा सुरक्षा सर्तकता भने अपानाउन सकिएको छैन । अहिले पनि खुल्ला रुपमा कुखुरा जन्य पदार्थको बिक्री बितरण भइरहेको छ । यहाँबाट अन्यत्र कुखुराजन्य पदार्थ लैजान र ल्याउन समेत रोक लगाइएको छैन ।

बर्ड फ्लु रोग नियन्त्रण आदेश, २०६४ अनुसार जीवाणू देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ। संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पंक्षी र तीनका अण्डा एवं दाना नष्ट गर्नुपर्ने हुन्छ । तर सुनसरीमा भने बर्ड फ्लु रोग लागेको खोर वरपरका समेत पक्षिहरु मारिएएको छैन ।