काठमाडौं । नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष ५० हजार मेटि्रक टन चिनी किन्न तयारी सुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ५० भारतबाट हजार मटि्रक टन चिनीका लागि भन्सार छुट माग्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

तर, अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने/नदिने विषमा निर्णय लिएको छैन । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्छ ।

नेपालमा उखु किसानहरूले भाउ नपाएर तड्पिइरहनु परेका बेला सरकारले भारतबाट चिनी झिकाउन लागेको हाे ।

साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित हुन्छ । त्यसैकारण सरकारले बाहिरबाट चिनी आयात गर्न अनुमति दिन लागिएको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।

गत वर्ष पनि आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउनुपर्ने भन्दै अर्थमा प्रस्ताव पठाएको थियो । अर्थले भने ३० हजार मेट्रिक टन मात्रै ल्याउन स्वीकृति दिएको थियो ।

अहिले साल्ट ट्रेडिङसँग ८ हजार मेट्रिक टनमात्रै चिनी मौज्दात छ । नेपालको उत्पादन मात्रैको भर पर्दा बजारमा चिनी अभाव हुनसक्ने भएकाले बाहिरबाट चिनी किन्न लागिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई बताए ।

‘भारतबाट चिनी ल्याउने अन्तिम स्वीकृति प्राप्त भइसकेको छैन,’ साल्ट ट्रेडिङका प्रवक्ता राजभण्डारीले भने,’ स्वीकृति प्राप्त हुनासाथ खरिद प्रक्रिया अघि बढाइनेछ ।’

गत वर्ष सरकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब महंगो मूल्य तिर्नेपर्ने अवस्था आएको थियो । यो वर्ष पनि त्यस्तै अवस्था आउन सक्ने भएकाले समयमै चिनी किन्ने प्रस्ताव अर्थमा लगिएको आपूर्ति अधिकारीले बताएका छन् ।
साल्ट ट्रेडिङको गोदाममा चिनी सकिनासाथ बजारमा मूल्य आकाशिने समस्या नियन्त्रण गर्न भारतबाट भन्सार छुट गरेर किन्न प्रस्ताव गरिएको हो ।

अनलाइनखबर बाट