काठमाडौं । ललितपुरमा पहिलो पटक चार दिने अर्गानिक(प्रांगारिक) कृषि मेला हुने भएको छ । ललितपुरको पाटन दरबार संग्रालयमा उक्त मेलाको आयोजना गरिएको छ ।

आगामी शुक्रबारदेखि सुरु हुने उक्त मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्रांगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादन, मसला, चामल, गहुँ, मकै, दाल, फापरलगायतका ५० वटा स्टांल राख्ने व्यवस्था गरिएको छ । यस्तै फलफूल, विउ विजन, मह, तेल, राडी, पाखीलगायतका कृषि उपज पनि मेलामा राखिनेछ ।

कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका छन् । कञ्चनजंघाका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाकाअनुसार कृषि विकास मन्त्रालय, कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर, केटीई फाउन्डेसन, साँग्रिला एग्रो वल्र्ड प्रालि, बाँस्कोटा ग्रुप प्रालिको संयुक्त आयोजनामा लेट्स गो अर्गानिक भन्ने नाराका साथ उक्त मेलाको आयोजना गरिएको हो । मेलामा अवलोकनकर्ताले निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

मेलाको अवसरमा वैदिक अर्गानिक कृषिका बिषयमा अन्तर्राष्ट्रिय गोष्ठि पनि शनिबार आयोजना गरिएको छ । उक्त गोष्ठिमा अन्तर्राष्ट्रिय अर्गानिक बिज्ञ प्राफेसर जोहन कोनहाउस र प्रोफेसर पिटर स्वानले वैदिक कालदेखि विकास भएको जैविक प्रणालीको बारेमा र हालको बिज्ञान तथा प्रविधिका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।