काठमाडौं । सरकारले किसान आयोग गठन गर्न मार्ग प्रसस्त गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले किसान आयोग गठन गर्ने बिषयमा निर्णय गरेपछि आयोग गठन गर्नका लागि बाटो खुलेको हो ।

करिब २० बर्षदेखि चर्चाको शिखरमा रहेको तर राजनीतिक दलको उदासिनताका कारण यो आयोग बन्न सकेको थिएन् । राजनीतिक दलसम्बद्ध किसान संघसंगठनहरुले निक्कै लामो समयदेखि किसान आयोग गठन गर्नुपर्ने माग राख्दै आएका थिए ।

नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी जोड दिएर यो आयोग गठन गर्नुपर्ने वकालत गर्दैआएको थियो । अखिल किसान महासंघ(क्रान्तिकारी) का सचिब नहेन्द्र खड्काकाअनुसार यो आयोग गठन भएपछि समग्र किसान र कृषि क्षेत्रमा ठूलो परिवर्तन हुने दावी गरे ।

हालै कार्यान्वयनमा आएको २० बर्षे दीर्घकालिन कृषि विकास रणनीति(एडीएस)ले पनि किसान आयोगको परिकल्पना गरेको छ । आयोग गठन भएपछि देशभर रहेका किसानसम्बन्धी संघ,संस्था र संगठनहरुलाई नियमन गर्न सघाउ पुग्नेछ । यसैगरी यस्ता संघसंस्थाको आवद्धताको बिषयमा पनि व्यवस्थित बनाइनेछ ।