एजेन्सी। एसिया-प्रशान्तीय क्षेत्रमा झण्डै ५० करोड मानिस भोकमरीको पीडामा छन्। जबकि, यहाँ उत्पादित फलफूल, तरकारी र अनाजमध्ये ४२ प्रतिशत खेर फाल्ने गरिएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य विश्लेषकले खाद्यान्न खेर फालिने हुँदा एसियाली नागरिकमा भोकमरीले थप सताएको बताएका छन्।

‘उत्पादनपछिको फसल संकलन, प्रशोधन, भण्डारण (पोष्ट प्रोडक्सन हार्भेष्ट) मा प्राविधिक त्रुटिले यो क्षेत्रमा धेरै खाद्यान्न खेर जाने गरेको हो,’ एसिया(प्रशान्तीय खाद्य बचाउ अभियान नामक संगठनले भनेको छ।

यता, संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठन (एफएओ) का सहायक महासचिव हिराइकी कोनुमाले आफ्नो वक्तव्यमा भनेका छन्, ‘वार्षिक एक अर्ब ३० करोड टन खाद्यान्न खेर फाल्ने गरिएको छ, जुन तीन अर्ब जनसंख्याको भोक मेटाउन पुग्छ।’

उनले राष्ट्रसंघले विश्वव्यापी रुपमा खेर गइरहेको खाद्यान्नमध्ये एक चौथाइ परिमाण सहजै जोगाउन सकिने अनुमान गरेको बताएका छन्। ‘एक चौथाइ खाद्यान्न जोगाउँदा पनि ८७ करोड जनसंख्याको आहार व्यवस्थापन गर्न पुग्ने हुन्छ,’ राष्ट्रसंघका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का एसिया-प्रशान्तीय क्षेत्रका प्रतिनिधिसमेत रहेका कोनुमाले भने।

विश्वको जनसंख्यावृद्धिको अनुपात विश्लेषण गर्दा आगामी सन् २०५० सम्म हामीले ६० प्रतिशत खाद्य उत्पादन बढाउनुपर्ने हुन्छ। कृषियोग्य भूमि र पानीको संकट त दिनदिनै बढ्दैछ, त्यसमाथि जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले झनै चुनौती थपिरहेको छ। तथापि, हामीसित जनसंख्याको बढ्दो अनुपातले खाद्य संकट टार्न बेलैमा सजग हुनुुपर्नेमा विश्वव्यापी दवाब परिरहेको छ।

कोनुमाले चिन्ता व्यक्त गर्दै भने, ‘बढ्दो जनसंख्याको लागि खाद्य व्यवस्थापन गर्न सकेनौं भने सामाजिक र राजनीतिक स्थायित्वमा समेत समस्या आउँछ, यसले समाजको द्धन्द्ध वृद्धि गराउने खतरा रहन्छ।’ २१ औं शताव्दीदेखि धेरै देशको आर्थिक वृद्धिदर बढेको छ। तर, यही आर्थिक वृद्धिको समतामूलक वितरण नहँदा धेरै देशहरुमा भोकमरी र गरिबीसमेत बढेको कोनुमाको विश्लेषण छ।

प्रत्येक ८ जनामा १ जनाले भोग्छन् भोकमरी

राष्ट्रसंघको तथ्यांकअनुुसार, सन् २०१० मा एसिया प्रशान्त क्षेत्रका ६५ करोडभन्दा बढी नागरिक राष्ट्रिय गरिबी रेखामुनि रहेका थिए जसमा एसियाली नागरिकको अनुपात बढी थियो। सन् २०१२ मा आइपुग्दा करिब ५४ करोड नागरिकमा भोकमरी देखियो। त्यसो त, विश्वका ६२ प्रतिशतभन्दा बढी नागरिक पर्याप्त पोषणयुक्त खानाबाट वञ्चित रहेको अनुमान पनि गरिएको छ।

पर्याप्त खाद्यान्न उत्पादन नहुनु र भएका खाद्यान्न पनि धेरै परिमाणमा खेर फाल्दा भोकमरीको चपेटा बढ्दो रहेको छ। अहिले विश्वको करिब १३ प्रतिशत जनसंख्या भोकमरीले ग्रस्त छन्, अर्थात करिब एक अर्ब जनसंख्याले अघाउन्जेल खान पाएका छैनन्, पोषणको कुरा त परको भइहाल्यो। अर्को हिसाबमा भन्ने हो भने, प्रत्येक ८ जनामा एकजनाले भोकमरीको पीडा खप्नुपर्ने बाध्यता छ।

खाद्यान्न खेर फालिनुमा खासै ठूलो कारण छैन। धेरै उपभोक्ताले अधिक परिमाणमा खाद्यान्न खरिद गर्छन्, तर बिग्रिनुअघि नै सबै उपभोग गर्दैनन्, नत भण्डारणमा पनि सावधानी अपनाउँछन्।

यता, खाद्यान्न उत्पादनको बेला पनि गुणस्तर नबिग्रिने गरी संकलन र भण्डारण हुन सकेको पाइदैन। धेरै किसानमा उत्पादनपछिको प्रविधि (पोष्ट प्रोडक्सन हार्भेष्ट) को ज्ञान र उपकरण नहुँदा अर्को समस्या थपिएको छ।

हाम्रै डाइनिङ टेबल हेरौं

हाम्रै व्यवहारले पनि बताउँछ हामी आफैं कति खाद्यान्न खेर फाल्छौं। हामीले आफ्नो डाइनिङ टेबलमा गर्ने व्यवहार गम्भीर भएर विश्लेषण गरौं त, हामीले हरेक छाकमा १५ देखि २० प्रतिशत अन्न खेर फालिरहेका हुन्छौं। पकाइएको अन्न खेर फाल्नेमा युरोपेली, उत्तर अमेरिकी र विकसित एसियाली मुलुकका नागरिक बढी छन्। गरिब मुलुकका नागरिक त किसान तहमै उपयुक्त उत्पादन, प्रशोधन र भण्डारण प्रविधि अभावले काँचो अवस्थामै खाद्यान्न खेर फालिन्छ।

यसरी खाद्यान्न खेर फालिँदा बजारमा खाद्य आपूर्तिको सन्तुलनमा पनि प्रतिकूल असर पर्छ। मागअनुसार आपूर्ति नहुँदा खाद्यान्न मूल्यवृद्धि भइरहेको छ। गरिब र मध्यमवर्गीय किसानले पनि पर्याप्त आम्दानी लिन सक्दैनन्। यसरी उपभोक्ता र किसान दुबैलाई हानि पुग्ने गरी खाद्यान्न आपूर्ति सन्तुलन बिग्रिन गई खाद्य असुरक्षा चुनौती थपिँदै गएको छ। ‘जबसम्म अन्नलाई सम्मान गर्न सक्दैनौं, तबसम्म भोकमरीको त्रास सँधै बढिरहन्छ’ कोनुमाले भने।

स्रोतः थम्सन रोयर्टस