ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएका थिए । तर पछिल्लो अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन सरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लगाएको छ ।

अनुसन्धानका अनुसार सरीरको छालामा ब्रोकाउली घसियो भने घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ । अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको शोधले यस्तो कुरा प्रमाणित गरेको हो । शोधकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली सरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ ।

सल्फोराफेन नामक रसायनले सरीरमा क्यान्सर कोषको सिर्जना हुने एपी वान नामक प्रतिक्रियालाई कम गर्ने तथा रसायनिक रुपमा सरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने गर्छ ।

शोधकर्ताहरुका अनुसार ब्रोकाउलीमा हुने यो रसायनले छाला डढ्ने जोखिम कम गर्छ र छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिन्छ । विश्वमा छालाको क्यान्सरको जोखिम बढिरहेको र सूर्यको किरण यसको मुख्य कारक तत्व रहेको विज्ञहरुले बताउँदै आएका छन् ।