कैलाली। कैलालीको गोदावरीमा बुधबार दर्जनौं गाईको मृत अवस्थामा फेला परेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिकाको टीप्परमा ल्याएर मंगलबार राति १२ बजेपछि गाई गोदावरी तीर्थस्थल क्षेत्रको भ्यागुतेपानी नजिक फालिएको स्थानीय बासिन्दाले बताएका छन् ।

‘राति १२ बजेपछि टिप्परले बोक्दै गाई फालिएको हो,’ गोदावरीका स्थानीय धर्मसिंह साउदले भने, ‘अधिकांश मरेका र केही मर्न लागेका गाई गरी झण्डै ८० भन्दा बढी गाई मारेर फालिएको छ ।’ उनको अनुसार मंगलबार अपरान्ह ५ बजे एउटा टिप्परले केही ज्यूँदै गाई छोडेर गएको थियो । ‘ती सबै गाई विष सेवन गराएपछि ल्याइएको रहेछ, उनले भने, राति १२ बजेतिर अरु ४ , ५ पटक टिप्परले मरेका गाई ल्याएर गोदावरी तीर्थस्थल क्षेत्रसँग जोडिएको भ्यागुते पानीमा फालेको हो ।’

प्रशासनले सडक विभागका डोजर प्रयोग गरी बिहानैदेखि गाई पुर्ने काम सुरु गरेको छ । गाईलाई कस्तो विष खुवाइएको हो भन्ने अहिले नै यकिन भइनसकेको प्रहरीले बताएको छ ।

यस विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्राररम्भिक चरणमा भिमदत्त नगरपालिकाका टिप्परले गाई फालेको जानकारी आएको बताए । प्रजिअ रिजालले भने, ‘यो विषयमा छानबीन शुरु भएको छ ।’