चितवन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चितवनका दुग्ध उत्पादक किसानहरुले बुधबार पाँच बुँदे मागपत्र बुझाएका छन् ।व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनको तर्फबाट सभापति देउवालाई बुझाइएको ज्ञापनपत्रमा किसानहरुलाई बैंक तथा वित्तीय क्षेत्रबाट दुईदेखि तीन प्रतिशत व्याजदरमा ऋण उपलब्ध हुनुपर्ने माग गरेको छ ।
किसानको परियोजनालाई धितो मानेर बैंक तथा वित्तीय संस्थाले लगानी गर्नुपर्ने उनीहरुको माग छ ।दिर्घकालीनरुपमा कर्जा लगानी गर्नुपर्ने, कर्जा लगानी गर्दा नयाँ र पुराना किसान भनेर फरक मापदण्ड नराख्न उनीहरुको सुझाव छ । दाना, घाँस, पराल, औषधि र अन्य खर्चहरुको तुलना गरेर दूधको मूल्य कायम गर्न समाजले माग गरेको छ । दुग्ध व्यवसायका लागि आवश्यक पर्ने दाना चोक्कर परालको मूल्य आकासिए पनि दूधको मूल्य नबढेको तीतो यथार्थ अन्त्य हुनुपर्ने किसानहरुको माग थियो । व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारी र सचिव ईन्द्रमणि गैरेले मागपत्र पेस गरेका हुन् ।‘दुग्ध उत्पादनमा सक्रिय व्यवसायिक किसान र सरकारको संयुक्त लगानीमा दाना उद्योग खोल्नु उपयुक्त हुनेछ’ मागपत्रमा उल्लेख छ । सरकारबाट पाँच करोड रूपैयाँ सरकारबाट उपलब्ध भए किसानहरुले दाना उद्योग खोल्न सक्ने मागपत्रमा सुझाव दिइएको छ । अचेल दाना उद्योगमा प्रयोग हुने सामग्री कमसल हुने तर मूल्य बढी पर्ने हुँदा किसान मारमा परेको समाजको भनाइ छ । तेस्तै पूर्वीचितवनको रत्ननगर कपरखोरीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको चित्रवन दुग्ध प्रशोधन कारखाना निर्माणमा तदारुकता देखाउन समाजले माग गरेको छ ।
दुग्ध व्यवसायमा लाग्ने यन्त्र उपकरण र बजारका लागि चाहिने ढुवानी साधन खरिदमा ९० प्रतिशत अनुदानको व्यवस्था हुनुपर्ने माग समाजले गरेको छ । देउवाले सरोकार राखे किसानहरुका माग सम्बोधनमा सहयोग पुग्ने समाजको धारणा छ ।समाजका अध्यक्ष कृष्णराज भण्डारीका अनुसार लागत बढी र मूल्य कम भएका कारण पेसा छाड्नेहरु बढ्दै छन ।
‘सरकारले कमभन्दा कम लागतमा दुध उत्पादन हुने र उचित मूल्य पाउने वातावरण मिलाउनुपर्छ । यसो भएमा पशुपालनमा युवा आकर्षण बढ्छ । देश दूधमा आत्मनिर्भर हुन्छ । निम्नस्तरको कामका लागि पनि कठिन माहौल भएको खाडी जस्ता देशहरुमा श्रम बेच्न जानुपर्ने बाध्यता हट्छ’ समाजका सचिव ईन्द्रमणि गैरेले भने ।सरकारले किसानको पक्षमा काम गर्न नसक्दा दूध उत्पादकहरु मारमा पर्दै गएको र बिचौलियाहरुले मनग्य फाइदा लिने गरेको देउवालाई बुझाएको मागपत्रमा उल्लेख छ ।