• बिल अधिकारी
चितवन ।कृषि राज्य मन्त्री तामाङले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनु भएको छ । चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको दोस्रो चितवन मत्स्य महोत्सव २०७३ को समुद्घाटन गर्दै राज्य मन्त्री तामाङले यस्तो बताउनुभएको हो । उहाँले कृषि नै नेपाल विकासको आधार रहेको भन्दै यसलाई सम्मानित पेशा नबनाईए सम्म विकास हुन नसक्ने बताउनुभयो । राज्य मन्त्री तामाङले कृषि प्रधान देश भनेर चिनिएको नेपालमा आधुनिक कृषि प्रणाली अपनाउनुपर्ने बताउनुभयो । उहाँले यसैका लागि कृषि मन्त्रालयले नयाँ–नयाँ कार्यक्रम ल्याउने गरेको बताउनुभयो ।
राज्य मन्त्री तामाङले पछिल्लो समयमा नेपालमा माछा पालन व्यवसाय पनि फस्टाउँदै गएको भन्दै विकाससंगै सहज व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । यसैस्वरुप विभिन्न पकेट क्षेत्र घोषणा गरि सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । राज्य मन्त्री तामाङले चितवनको अर्को परिचयको रुपमा अब माछा आएको बताउनुभयो । उहाँले यस्तो किसिमको मेला महोत्सवमो व्यवसायको प्रवद्र्धन र संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।
महोत्सवको उद्घाटन सत्रमा कृषि मन्त्रालयका सह–सचिव डिलराम भण्डारी, जिल्ला कृषि विकास कार्यालयका सुधिर श्रेष्ठ, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दवाडी, नेपाल मत्स्य व्यवसायी संघका विभिन्न जिल्लाका प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा महोत्सव प्रचार–प्रसार समितिका संयोज लुलाराज तामाङले माछा व्यवसायीको अवस्थाको बारे प्रतिवेदन पेश गर्नुभएको थियो । उद्घाटन सत्र महोत्सव मुल समिति संयोजक रमेश पाण्डेको अध्यक्षतामा भएको थियो ।
‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन सत्रअघि झाकी सहितको र्याली निकालिएको थियो ।महोत्सवको विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम रहेको मत्स्य व्यवसायी संघ चितवनका सचिबालय सदस्य नारायण शर्मा ले जानकारी दिनुभयो ।
महोत्सवमा ४५ वटा स्टल रहेको प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो । महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।