चितवन । दूध उत्पादन गर्दा किसानले धेरै लगानी गर्नुपर्ने तर यसको भाउ लागतअनुसार नपाउने अहिलेको अवस्था छ । दूध बेचेर किसानले लागतसमेत पनि उठाउन नसक्दा उनीहरु मर्कामा परेका छन् ।लागतको हिसाबले पानीभन्दा पनि सस्तो दरमा किसानको दूध बिक्री भइरहेको छ ।
एक लिटर शुद्धीकरण गरेको पानीको मूल्य बजारमा २०–२५ रूपैयाँ पर्छ । किसानले बिक्री गर्दा एक लिटर दूधको मूल्य ३५–४० रूपैयाँमात्र परेको छ । एक लिटर पानी शुद्धीकरण गरेर निकाल्न जति लागत लाग्छ, एक लिटर दूध निकाल्न त्योभन्दा कयौं गुना धेरै खर्च लाग्छ ।किसानको भनाइअनुसार गाई वा भैंसीबाट एक लिटर दूध निकाल्न कम्तीमा ५० रूपैयाँ खर्च लाग्छ । तर, किसानले एक लिटर दूधको मूल्य ५० रूपैयाँ पाउन सकेका छैनन् । भरतपुर–१३ मा रहेको छहारी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नेत्रप्रसाद सापकोटाले किसानहरुको मागप्रति सरकारले बेवास्ता गर्दा यस्तो परिणाम आएको बताए ।
‘दूधबाट बनेका परिकार मिठाइ, घिउ, नौनी, बटरलगायतका चीजहरुको भाउ बढेकोबढ्यै छ । चोकर दाना तथा परालको पनि भाउ बढ्यो । तर, दूधको भाउ किन बढेन ? अध्यक्ष सापकोटाले प्रश्न गरे ।बजारमा अहिले दानाको भाउ ९०० बोरा छ । चोकरको भाउ १२ सय ५० पुगेको छ । एक मुठा परालको ३५० रूपैयाँ पुग्यो । तर लागतअनुसार किसानले दूध बेचेर मूल्य पाउन सकेका छैनन् । ‘सरकारले दूधको मूल्य बढाउन नसके, दाना चोकर र परालको भाउ घटाए पनि किसानलाई केही राहत हुने थियो’ किसान गंगाप्रसाद सापकोटाले भने । हिसाब गर्ने हो भने लागतअनुसार एक लिटर दूध १०० रूपैयाँमा बेच्दा पनि फाइदा नहुने अर्का किसान गोपालप्रसाद शर्मा बताउँछन् ।
५० हजारभन्दा बढी पर्ने गाईलाई दैनिक डेढ–दुई सयको घाँस, दाना खुवाएर गोबर र गहुँतमा लुटपुटिएर निकालिने गोरस किसानहरुले पानीको मोलमा सरकारी वा निजी कम्पनीहरुलाई बेच्नु परेको नारायणी नगरपालिकाका किसान दीपक खनालले बताए । फ्याट र एसएनएफ कम भएको गाईको दूधको भाउ प्रतिलिटर ३० रूपैयाँ पर्छ । झण्डै बोतल बन्द (मिनरल) पानीको मोल पनि बजारमा झण्डै त्यस्तैत्यस्तै लिएको पाइन्छ ।
‘बजारमा कोक पेप्सीको मूल्य प्रतिलिटर ७० रूपैयाँ पर्छ । बियर ६८० मिलिको १८० रूपैयाँ भन्दा बढीमा बिक्छन् । तर दूधको मूल्य किन बढ्न सकेको छैन ?’ एक किसानले भने ।
दुग्ध विकास संस्थानअन्तर्गतको भरतपुरको संकलन चिस्यान केन्द्रका इन्चार्ज नवीन आलेका अनुसार राम्रो दूध भएका किसानले प्रतिलिटर ४५ रूपैयाँसम्म पारेका छन् । ‘किसानले दूध उत्पादन गर्दा लागत बढेको पक्का हो, त्यो घटाउन सरकारले पहल गर्नुपर्छ । दाना, चोकर र परालको फिक्स मूल्य तोकिदिनुपर्छ’ उनले भने ।
उनको भनाइअनुसार तत्काल दूधको मूल्य बढ्ने सम्भावना छैन । तर जुन समयमा दूध कम हुन्छ, त्यो समयमा थोरैमात्रामा दूधको मूल्यमा समायोजन हुन सक्छ । जिल्ला पशु स्वास्थ्य कार्यालयका पशु सेवा प्राविधिक दीपचन्द्र घिमिरेको अनुसार किसानको लागतअनुसार दूधको मूल्य कम भएको हो । तर,किसानले लागत कम पर्ने खालका उपायहरु सोच्नुपर्ने उनले बताए । उनका अनुसार चोकर दाना र परालमा हाल्ने खर्चले बारीमा घाँस लगाउने र चोकर दानाको ठाउँमा घाँस खुवाए किसानको लागत कम पर्छ । ‘जसले खेतमा घाँस लगाउँदैन, दाना चोकर र परालमा भर पर्छ भने उसलाई दूधले नाफा नदिन सक्छ’ उनले भने ।पशु कार्यालयका सूचना अधिकारी पशु चिकित्सक अर्जुनप्रसाद थपलियाले चितवन जिल्लामा वार्षिक ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको जानकारी दिए । उनले चितवन जिल्ला पनि दूधमा आत्मनिर्भरको नजिक पुगेको बताए । चितवनमा हाल ९५५ वटा गाई फार्महरु छन् ।