चितवन । विश्व माटो दिवसको अवसरमा रत्ननगरमा तीन दिने माटो तथा मलखाद व्यवस्थापन तालिम सोमबारबाट सुरू भएको छ ।
जिल्ला कृषि विकास कार्यालय र रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर कृषि प्रयोगशालाले तालिमको आयोजना गरेका हुन् । तालिममा रत्ननगर भित्रका ३० जना किसानहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले माटो तथा मलखाद व्यवस्थापन गर्न सके कृषि उत्पादन दोब्बर बढाउन सकिने बताए । उनले मुलुकलाई उत्पादनमा आत्मर्निभर बनाउन माटो र मलखाद व्यवस्थापनमा जोड दिनुपर्ने सुझाव दिए ।
तालिममा कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिवराज पौडेल, जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत सुदिप रेग्मीले प्रशिक्षण दिनेछन् । रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर कृषि प्रयोगशालाका प्रमुख जीवन पौडेल, रत्ननगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने, संघका उपाध्यक्ष राजाराम रेग्मी, संघका कृषि प्रवद्र्धन समितिका संयोजक निराजन खनाललगायतले मन्तव्य राखेका थिए ।