पोखरा। दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी उदाहरण बनेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि भण्डारी यतिखेर सबैका लागि उदाहरणीय बनको हुन् ।

दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग जातको केराका बिरुवा फस्टाएर अहिले वार्षिक रु चार लाख आम्दानी गर्दै आएको कृषक भण्डारी बताउँछन् ।

पोखरा बजारमा रहेको घर जग्गा बिक्री गरेर आफ्नो निर्मलपोखरी गाविसस्थित जन्मघर फर्कनुभएका ६५ वर्षीय भण्डारी भन्नुहुन्छ – “घरछेउमा रहेको केराघारीबाट दैनिक एक दुई घरी केरा बिक्री गर्दै आएको छु । केराको प्रतिघरी रु ८०० देखि दुई हजारसम्म पर्ने गरेको छ ।”
उहाँ भन्नुहुन्छ – “वार्षिक रु तीन लाखभन्दा बढी उत्पादन हुने सुन्तलाको बोट सुक्न थालेपछि सोही जमिनमा केराखेती विस्तार गर्दै आएको र अहिले सुन्तलाको विकल्प केरा राम्रो आम्दानीको स्रोत बनेको छ ।”

यातायातको असुविधाका कारण बारीमा उत्पादित अर्गा्निक केरा डोकोमा बोकेर पोखराका बजारमा बिक्री गर्दै आउनुभएकी श्रीमती दुर्गामाया भण्डारी भन्नुहुन्छ – “बजारमा लगेको केरा बिक्री हुँदैन कि भन्नु पर्दैन ।” उहाँका अनुसार कुनै विषादी प्रयोग नगरी उत्पादित अर्गा्निक केरा, अकबरे खुर्सानी, दूधजन्य पदार्थ तथा मौसमी र बेमौसमी तरकारी बिक्री गरेर मासिक रु एक लाख गाउँमा ल्याउने गरेकी छु ।

परम्परागत कृषिभन्दा आधुनिक र नयाँ नयाँ सम्भावनाको खोजी गर्दै आउनुभएका कृषक भण्डारीले छ हजार बराबरको धान उत्पादन हुने चार आना जग्गामा रोपेको अकबरे खुर्सानीबाट यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।

घर नजिकै बारीको डिलमा पाँच वर्षअघि लगाएको सिम्रिक बिक्री गरी ५२ हजार आम्दानी गरेको उहाँ बताउनुहुन्छ । आयुर्वे्दिक महत्व बोकेको सिम्रिक विशेष गरी शरीर दुखेको र सड्के मर्केकोमा सेवन गर्ने गरिन्छ ।