• बिल अधिकारी
चितवन । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने रासायनिक विषादीको प्रयोग नेपालमा घट्दै गैरहेको छ । सरकारले फलफूल तथा तरकारीमा विषादीको प्रयोग नगर्न गरेको आग्रह र विषादीप्रतिको जनचेतनाका कारण बालीनालीमा विषादीको प्रयोग घटेको हो । बाली संरक्षण निर्देशनालयका अनुसार देशमा भित्रिने कुल विषादीको ९० प्रतिशत धादिङ, काभ्रे र मकवानपुरमा प्रयोग हुने गरेको छ भने बाँकीको १० प्रतिशत भने अन्य विभिन्न जिल्लामा प्रयोग हुने गरेको छ । नेपालमा भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न अध्ययनले विषादीको मात्रा तरकारी बालीमा बढी हुने गरेको देखाएको छ । ” गत वर्ष नेपालमा चार सय ५४.६ टन विषादी आयात भएको थियो ।
नेपालमा प्रयोग हुने विषादी सबैभन्दा धेरै भारत र चीनबाट आयात हुने गरेको छ । यि बाहेक थाइल्याण्ड, कोरिया, सिङ्गापुर, जापानलगायत देशबाट पनि नेपालमा विषादी आयात हुने गर्छ । निर्देशनालयका अनुसार नेपालमा १ हजार ५ सयभन्दा बढी विषादी दर्ता भएका छन् । पछिल्ला केही वर्षयता मानव स्वास्थ्यमा हानि पुर्याउने करीब १५ ओटा घातक विषादीको आयात तथा विक्री वितरणमा रोक लगाइएको छ ।नेपालमा भित्रिने गरेका विषादीमा कीटनाशक, झारनाशक, रोगनाशक, जीवनाशक, सङ्क्रमण प्रतिरोधक रसायनलगायत अन्य रहेका छन् ।
सरकारका साथै देशमा सञ्चालित विभिन्न कृषि परियोजनाले आफ्ना वार्षिक कार्यक्रमहरूमा रासायनिक विषादी प्रतिस्थापन गर्ने लक्ष्य लिए पनि प्रतिस्थापन हुन नसकेको बाली तथा संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपालमा अहिले प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग भइरहेको छ ।’ अन्य देशको तुलनामा भने नेपालको बालीनालीमा विषादीको प्रयोग कम हुने गरेको उहाँको भनाइ छ । शर्माका अनुसार विषादीको प्रयोगपछि कुर्नुपर्ने समयको ख्याल नगर्ने, बाली कटानको समयमा विषादीको प्रयोग गर्ने र दर्ता नै नगरिएका विषादी प्रयोग गर्नेजस्ता समस्या देखिएका छन् । विषादी ऐन २०४८ लाई समयसापेक्ष बनाई संसदमा पेश गरिसकिएको पनि उहाँले जानकारी दिनुभयो ।
राजधानीको मुख्य तरकारी बजार कालिमाटीमा विषादी अवशेष द्रुत विश्लेषण एकाइ शुरू भएपछि कालीमाटी बजारको तरकारीमा मानव स्वास्थ्यमा हानि पुर्याउने तरकारी पहिलेभन्दा कम भेटिएको पनि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले यस्ता एकाइ चाँडै नै अन्य स्थानमा पनि स्थापना गर्न लागेको छ । विषादीप्रतिको जनचेतनाका कारण पछिल्लो समय बालीनालीमा भने विषादी प्रयोगमा कमी आएको निर्देशक शर्माले बताउनुभयो । किसानसँगको सहकार्यमा निर्देशनालयले प्लाण्ट क्लिनिक पनि स्थापना गर्न लागेको छ । उक्त क्लिनिकको स्थापनापछि किसान आफैले विषादीको परीक्षण गर्नसक्ने निर्देशक शर्माको भनाइ छ ।