रूपन्देही । रूपन्देहीमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । धानका लागि अनुकूल मौसम र पर्याप्त पानी परेकोले उत्पादनमा वृद्वि भएको हो । जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका अनुसार यस वर्ष जिल्लामा ३ लाख ६८ हजार १ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन अहिलेसम्मकै उच्च रहेको कार्यालयको भनाइ छ । गतवर्ष २०७२/७३ मा ३ लाख २० हजार १ सय ६० मेट्रिक टन उत्पादन भएको थियो ।
गतवर्षभन्दा यस वर्ष जिल्लामा धान उत्पादन सोचेभन्दा राम्रो भएको कार्यालयका सूचना अधिकृत शिवप्रसाद चौधरीले बताए । ‘हामीले ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरेका थियौं,’ चौधरीले भने । गतवर्षभन्दा यो वर्ष ४८ हजार २४ मेट्रिक टन धान उत्पादन वृद्धि भएको हो । धान उत्पादनमा प्रमुख जिल्लामध्ये रूपन्देही एक हो ।
कुल गार्हस्थ्य उत्पादनमा मुख्य खाद्य बाली धानले महत्त्वपूर्ण प्रभाव पार्छ । ‘समयमै पूर्णरूपमा सक्रिय भएको मनसुनको साथ र सुलभ रूपमा वितरण भएको मल र बीउका यो वर्ष राम्रो रोपाइ“ भएको थियो,’ कार्यालयका प्रमुख भोजराज सापकोटाले भने ।
यस वर्ष प्रतिहेक्टर करीब ६ मेट्रिक टनका दरले धान उत्पादन भएको कार्यालयको भनाइ छ । गतवर्ष ४ दशमलव ६ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो । यस वर्ष ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । सापकोटाले भने, ‘जमीनको खण्डीकरण रोक्ने र सि“चाइको सुविधा पु¥याउन सकेमा रूपन्देहीमा ४ लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुन सक्छ ।’ जिल्लामा १२ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा छ । अन्य क्षेत्रमा आकाशे पानीको भरमा खेती गनुपर्ने बाध्यता छ । त्यस्तै, आव २०७०/७१ मा ७० हजार ५ सय हेक्टरमा धान लगाइएकोमा ३ लाख ५२ हजार ५ सय मेट्रिक टन उत्पादन भएको थियो । २०६९/७० मा ३ लाख २४ हजार ३ सय मेट्रिक टन उत्पादन भएको थियो । जिल्लामा उत्पादित धानमध्ये ४० प्रतिशत बाहिरी जिल्लामा जान्छ ।
त्यस्तै, गतवर्षदेखि जिल्लामा चैते धानसमेत लगाउन शुरू गरिएको छ । चौधरीले पहिलो वर्ष (२०७१/७२) ३० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको १ सय ४४ मेट्रिक टन उपत्पादन भएको जानकारी दिए । धान बालीको प्रवर्द्धनका लागि कृषि विकास कार्यालयले विभिन्न किसिमका कार्यक्रम चलाउँदै आएको छ । पछिल्लो समय प्लटिङले खेतीयोग्य जमीन घटिरहेको छ । बढ्दो शहरीकणले खेत मासिँदै गएपछि अन्नबाली उत्पादनमा कमी आउन थालेको छ । जिल्लामा धानको उत्पादन वृद्धि गर्न यन्त्रीकरणको प्रयोगसमेत गरिएको छ । मर्चवार, लुम्बिनी, मझगावा, धकधही, बोधबार, मानपकडी, मानमटेरिया, हर्नैया, देवदह, रूद्रपुर धान उत्पादनका पकेट क्षेत्र हुन् । यस वर्ष जिल्लाका किसानले गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, साबित्री, सावा मनसुली, सोणसव सावा मन्सुली, राधा ४, सावित्री, रामधाम र सावा मनसुली गोरखनाथ, लोकनाथलगायत विभिन्न जातका धान लगाएका थिए । नेपाल खाद्य संस्थान, रूपन्देहीले भने दुई जातका धानको मात्र मूल्य निर्धारण गरेको छ । गोरखनाथ धान प्रतिक्विण्टल २ हजार ५ सय र सोना मन्सुलीप्रति क्विण्टल २ हजार २ सय ५० निर्धारण गरेको हो ।