डडेल्धुरा। लामो समयदेखि भारतमा चौकीदारी गरेको पैसाले घरखर्च धानिरहेका अमरगढी नगरपालिकाका पदमबहादुर ऐर हाल घरमै तरकारी खेती गर्न व्यस्त भएका छन् । तकारी खेती सुरु गरेपछि उनको कमाउनका लागि विदेश जाने मोहसमेत भंग भएको छ ।
गाउँमै व्यावसायिक तरकारी खेती गरेर भारतमा भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी तीन वर्षदेखि रोजगारी खोज्दै हिँडेका छैनन् । तरकारी खेतीबाट वार्षिक ४ लाखदेखि ५ लाख ७५ हजारसम्म कमाई हुने गरेको उनी बताउँछन् ।
भारतमा झन्डै ८ वर्ष चौकीदारी गरेर फर्किएका पदमबहादुर अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी मात्र गरेका छैनन्, सन्तुष्टसमेत छन् । अर्काको देशमा चौकीदारी गरी खानुभन्दा आफ्नै देशमा उद्यम गरेर खानु राम्रो भएको उनले बताए ।
पदबहादुरले २ वटा प्लास्टिको टनेलमा गोलभेंडा खेती गरेका छन् । त्यसैगरी रायो, काउली, बन्दालगायतका तरकारी पनि उनले फलाएका छन् । अन्नबाली हुने खेतमा व्यावसायिक तरकारी खेती गरिरहेका उनलाई छोरा, छोरी र श्रीमतीले सहयोग गर्ने गरेका छन् ।
“सुरुमा तरकारी खेती गरेर के होला लागेको थियो,” उनले भने, “जिल्ला कृषि विकास कार्यालयलगायतका विभिन्न संस्थाको सहयोगमा तरकारीसम्बन्धी तालिम लिएपछि यो पेसामा लाग्न उत्प्रेरणा मिलेको हो ।” ६० घर रहेको उनको गाउँमा अरुले पनि व्यवसायिक तरकारी खेती सुरु गरेको उनले बताए ।
अमरगढी नगरपालिका–१ नजिकै बागबजार बजारमा तरकारी सजिलै बिक्री हुने भएकाले उनले बजार खोज्न भौंतारिनु परेको छैन । पदमबहादुरले तरकारी खेतीबाटै राम्रो आम्दानी गरेपछि यहाँका अन्य युवासमेत यसतर्फ आकर्षित भएका छन् । ४४ वर्षिय पदमबहादुरको व्यावसायिक तरकारी खेती अहिले जिल्लाकै नमुना भएको छ ।