नवलपरासी।भटमास र बोडीले बजार नपाएपछि स्थानीय समस्यामा परेका छन् । नवलपरासीको विकट पहाडी गाविस रकुवाको मुख्य खेती भटमास र बोडी हो । तर, त्यहाँ उत्पादित भटमासले उचित बजार नपाउँदा र यातायातको समस्याले गर्दा स्थानीयले चामलसँग साट्ने गरेका छन् । रकुवाको बाँझोबारीका पूर्णप्रसाद अधिकारीले आफ्नो १२ रोपनी खेतमा भटमास र बोडी लगाएका छन । त्यहाँबाट उत्पादित भटमास र बोडी चामलसँग साट्ने गरेको उनले बताए । एक सिजनमा ६ देखि ८ मुरीसम्म भटमास उत्पादन हुने गरेको उनले बताए ।
भटमास चामलसँग सरी (एक पाथी चामलको एक पाथी भटमास ) र बोडी दुनी (एक पाथी बोडीबराबर दुई पाथी चामल) सँग साट्ने गरेको उनले बताए । यातायातका कारण बजारसम्म ल्याउन गाह्रो हुने भएकाले आफूहरूले चामलसँग साट्नुपरेको उनको भनाइ छ । यस्तै, रकुवाका अर्का किसान विष्णुबहादुर विश्वकर्माले पनि उत्पादन गरेको भटमास र बोडी चामलसँग नै साट्ने गरेको बताए । तनहुँको भिमाद र पाल्पाको रामपुरबाट आउने व्यापारीले चामलसँग भटमास र बोडी साट्ने गरेका छन् ।
विश्वकर्माले वर्षमा करिब ६ मुरी भटमास र बोडी उत्पादन गर्ने गरेका छन् । यातायातको सुविधा नहुँदा गाउँ पुग्ने व्यापारीसँग चामलमै साट्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनले भने ‘कावासोती, दलदले, चितवनलगायतका बजार पु-याउन सके फाइदा हुन्थ्यो । तर, यातायात नहुँदा ढुवानी खर्च नै बढी हुन्छ ।’
पछिल्लो केही समयदेखि चामलसँग भटमास र बोडी साट्ने व्यापारी पनि गाउँ आउन छाडेपछि समस्या थपिएको स्थानीय सीता पाटाले बताइन् । व्यापारी नआएपछि घरमा नै थन्क्याउनुपरेको उनले बताइन् । सिँचाइको सुविधा नभएको सो स्थानमा अन्य खेती राम्रो हुँदैन । उत्पादन भएको भटमास र बोडी पनि घरमै थन्क्याउनुपर्ने अवस्था आएपछि स्थानीय कृषक थप चिन्तित भएका छन् । २ वर्षअघिसम्म एक पाथी भटमासको डेढ पाथीसम्म चामल दिने गरेको भए पनि गत वर्षबाट बराबरीमा साट्न थालेको सीताले बताइन् ।
भटमास नगदेबाली भए पनि पछिल्लो २ वर्षयता भटमासले बजार पाउन गाह्रो भएको व्यापारी चित्रसिंह पाटा मगरले बताए । दाङ र बाग्लुङबाट आउने भटमासले रकुवाको भटमास बोडी विस्थापित भएको पाटाले बताए । गत वर्ष रकुवाबाट चार सय क्विन्टल भटमास संकलन गरेका पाटाले गत वर्ष संकलित भटमास र बोडी बेच्न बजारको समस्या भएको बताए ।