इलाम। इलामबाट वार्षिक २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको तरकारी निकासी हुने गरेको छ । काउली मात्र वार्षिक १ अर्ब ५० करोडभन्दा बढीको निकासी हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा उत्पादन भएको तरकारीमध्ये साढे दुई अर्बभन्दा बढीको तरकारी निर्यात भएको छ । यहाँ उत्पादित तरकारी छिमेकी जिल्लासहित भारतमा समेत पुग्ने गरेको छ ।आर्थिक वर्ष ०७२/७३ मा इलामबाट २ अर्ब ६० करोड ४१ लाख ७५ हजार ७ सय ४६ रुपैयाँबराबरको तरकारी निकासी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ३ हजार २ सय ३७ हेक्टरमा तरकारीखेती हुने गरेको छ । यहाँ उत्पादित तरकारीमध्ये ७२ हजार ६ सय ७९ टन निकासी भएको हो ।तरकारीबाट किसानले वार्षिक ठूलो रकम जिल्ला भित्र्याउने गरेका छन् । यहाँका किसानले काउली, बन्दा, ब्रोकाउली, रायो, खुर्सानीलगायतका बेमौसमी तरकारीखेती गर्ने गरेका छन् ।
सबैभन्दा बढी काउलीको निकासी भएको छ । ३९६ हेक्टरमा गरिएको काउलीखेतीबाट ४६ हजार ५ सय १९ टन निकासी भएको छ । काउलीबाट किसानहरूले १ अर्ब ६२ कडोर ८१ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले काउलीबाहेक ८ हजार ४ सय ६ टन अर्थात् १ करोड ६८ लाख ११ हजार ६ सय २० रुपैयाँको बन्दा निकासी भएको जानकारी दिए । यस्तै रायोको साग ४४ करोड ९९ लाख ९९ हजार २ सय रुपैयाँ, मुला ३ करोड ३२ लाख ५५ हजार रुपैयाँको निर्यात भएको छ ।इलाममा ७ सय २७ हेक्टरमा बन्दाकोपिको खेती गरिँदै आएको छ । यस्तै ५ सय २७ हेक्टरमा रायोको साग लगाइने गरेको छ । करेला, घिरौंला, फर्सी, अकबरे खुर्सानी, लौकालगायत अन्य तरकारीसमेत इलामबाट निर्यात हुँदै आएको छ ।
इलाममा उत्पादित तरकारी झापाको बुधबारे, चाराआली, बिर्तामोडलगायत भारतका मिरिक, दार्जिलिङ, सिलिगुढीसम्म पु¥याइने गरेको छ ।उत्पादित तरकारी बिक्रीका लागि कुनै समस्या नरहेकाले किसानहरू यसतर्फ बढी आकर्षित भएका छन् । पशुपतिनगर, कन्याम, गोदक, श्रीअन्तु, सूर्योदय नगरपालिकाको फिक्कल, बरबोटे, माघेलगायतका क्षेत्रमा व्यावसायिक तरकारीखेती हुँदै आएको छ ।
कृषि विकास कार्यालयका योजना अधिकृत काफ्लेका अनुसार जिल्लामा तरकारी उत्पादन वृद्धि हुनुमा किसानहरूको व्यावसायिकता साथै खेती गर्ने शैलीमा आएको वैज्ञानिकता नै प्रमुख कारण रहेको बताउँछन् । यहाँका किसान सहकारीमा आबद्ध भएर तरकारीखेती गर्ने गर्दछन् । तरकारीमा आत्मनिर्भरता बनाउन जिल्ला कृषि विकास कार्यालयले २ वर्षदेखि युवा लक्षित तरकारी कायक्रमअघि ल्याएको छ । कार्यक्रमअन्तर्गत प्लास्टिक टनेल वितरण, थोपा सिँचाइ योजना सञ्चालन गरिँदै आएको छ ।