खोटाङ। खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतंक नियन्त्रणको माग गरेका छन् ।
खेतबारीमा लगाएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेपछि दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका किसानले बाँदर आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।
बाँदर आतंकले कृषि उत्पादनमा ह्रास आएकाले बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासनलाई गुहार्नु परेको स्थानीय बासिन्दा शिवप्रसाद आचार्यले बताउनुभयो ।
किसानले बाँदर आतंक नियन्त्रणका लागि दीर्घकालिन कार्ययोजना बनाउन वा प्रत्येक किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै प्रशासनमा निवेदन दिएका छन् ।
बाँदरले बालीनाली नष्ट बनाएका कारण किनेको अन्नमा निर्भर रहनुपर्ने, बाँदरले घरभित्रै राखिएको अन्न खाइदिने, बाँदर धपाउनुपर्ने बाध्यताका कारण बालबच्चाको पठन–पाठनमा नकरात्मक असर पुगेको लगायतका समस्या निवेदनमा उल्लेख छ ।