ईलाम। केही समयअघिसम्म मिरमिरे बिहानीसँगै दूध बेच्न हतारो हुुने देउमाई नगरपालिका–१ सावजुुङका दुुग्ध उत्पादक किसानलाई अहिले निकै सहज भएको छ । सहकारीमार्फत दूध बेच्दा बिहान सबेरै काम नगरे दूधै नबिक्ने, तापक्रम बढ्दा दूध फाट्ने र बन्द हड्तालका समयमा दूध खेर जाने समस्याबाट हैरान किसानलाई पछिल्लो समय गाउँमै दूध प्रशोधन गर्ने डेरी स्थापना भएसँगै राहत भएको छ ।
देउमाई नगरपालिका–१ मा मात्र स्थानीय कृषकको अगुुवाइमा १४ वटा डेरी स्थापना भएका छन् । डेरी स्थापना भएपछि दूध बेच्न कृषकलाई समस्या छैन । बरु डेरी सञ्चालकहरूले नै किसानलाई तानातान गर्ने गरेका छन् । बिहान ९ बजेसम्म डेरीमा दूध लगे पनि बिक्री गर्न सकिने किसानहरू बताउँछन् । सहकारीमार्फत दूध बेच्दा चिस्यान केन्द्रसम्म लैजान हतारो हुने गरेकोमा अहिले त्यसो समस्या पनि अन्त्य भएको छ ।
एउटै वडामा धेरैवटा डेरी स्थापना भए पनि डेरी सञ्चालकलाई दूध प्रशोधन गर्न र उत्पादित घिउ तथा छुर्पी बजारमा बिक्री गर्न पनि समस्या छैन । किसानसँग लिएको दूध प्रशोधनपछि विभिन्न परिकार बनाएर सजिलै बिक्री हुने गरेको डेरी सञ्चालक विष्णुु चौलागाईले बताए । प्रत्येक डेरीमा दैनिक एक सय लिटरदेखि ५ सय लिटरसम्म दूध आउने गरेको छ ।किसानबाट खरिद गरिएको दूधबाट दैनिक १ सय ५० किलोसम्म घिउ उत्पादन हुुने गरेको छ । त्यस्तै दैनिक १ सय ५० किलोदेखि ३ सय किलोसम्म छुर्पी उत्पादन हुने स्थानीय डेरी ब्यवसायी लोकनाथ चौलागाईले जानकारी दिए ।
डेरीमा उत्पादित घिउ प्रतिकिलो ५ सय रुपैयाँ र छुर्पी प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हँुदै आएको छ । यहाँ उत्पादित घिउ झापा, धरान, काठमाडौंलगायतका बजारसम्म पु¥याइने गरेको छ ।घिउ मात्र होइन, उहाँ उत्पादित छुर्पीको मागसमेत उच्च छ । उत्पादित छुर्पी अमेरिकामा निर्यात गर्न ब्यवसायीहरू डेरीसम्मै पुग्ने गरेका छन् ।दूध उत्पादनबाट किसानले राम्रो आम्दानी गर्दै आएका छन् । दूध प्रशोधनपछि निस्कने क्रिमका आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ । उत्पादित क्रिमको मूल्य किसानले प्रतिकिलोको ५ सय रुपैयाँ पाउँदै आएका छन् । गाईको दूध प्रतिलिटर न्यूनतम ३० देखि ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ भने भैंसीको दूध प्रतिलिटर ५० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
यहाँका दुग्ध उत्पादक किसानले मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । घरनजिकै डेरी भएपछि आफूअनुकूल समयमा दूध बिक्री गर्न तथा बचत भएको समयमा पशुुकै स्याहार गर्न सहज भएको स्थानीय कृषक प्रकाश खनालले बताए ।