काठमाडौँ। चितवन, झुवानीका थारु महिलाको नृत्यसंगै भृकुटीमण्डपमा आयोजित माछा महोत्सव समापन गरिएको छ ।महोत्सवमा सिपी, शङ्खे किरा (घुङ्गी) लगायत विभिन्नथरिका माछाको जिउँदो तथा तयारी परिकार बिक्रीमा राखिएको थियो ।

नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ ’ भन्ने अभियानकासाथ मङ्सिर ९ देखि सुरु भएको पाँचदिने महोत्सव कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले आज समापन गर्नुभएको हो ।

महोत्सव अवधिमा ४७ बिक्री कक्षबाट लगभग रु एक करोडभन्दा बढी कारोबार भएको सङ्घले जनाएको छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको यो तेस्रो महोत्सव हो । यसअघि विसं २०६९ र २०७१ मा राष्ट्रिय सभागृह र बानेश्वरमा पहिलो र दोस्रो महोत्सव सम्पन्न भइसकेका छन् ।

महोत्सव समापनका मन्त्री चौधरीले थन्किएर बसेको मत्स्यपालन नीति चाँडै ल्याउन सरकार कटिबद्ध छ भन्नुभयो ।

उहाँले माछापालनलाई व्यावसायिक बनाउन सरकारले छिट्टै छुट्टै ऋण सिफारिस समिति बनाउन लागेको जानकारी पनि दिनुभयो ।

सरकारले आव २०७२/७३ को वार्षिक बजेटमा कृषकलाई वाणिज्य बैंकमार्फत छ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने प्रबन्ध मिलाएको थियो । तर सो कार्य प्रभावकारी नभएको गुनासो आएपछि सरकारले ऋण सिफारिस समिति बनाउन लागेको मन्त्री चौधरीले बताउनुभयो ।

महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, विभिन्न कम्पनीका औषधि, सरकारी तथा गैरसरकारी संस्थाका कृषि उपजका कक्षसमेत राखिएको थियो ।