बझाङ।२०४० सालमा एसएलसी पास गरेका गगन सिंह जागिर पाउने आशमा राजनीतिक दलको झोले कार्यकर्ता बन्नुभयो । लामो समयसम्म नेताको पछि लाग्नुभएको उहाँलाई नेताले जागिर लगाई दिने भन्दा पनि आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरे तर जागिर भने मिलेन । त्यसपछि मजदुरीका लागि भारत तर्फ लाग्नुभयो । भारतको मजदुरीमा पनि गगनको मन अडिन नसके पछि आफ्नै माटोमा केही गर्ने जोशका साथ २०६८ सालमा घर फर्किनुभयो । भारतमा मजदुरी गरी कमाएर ल्याएको केही रकम र आफन्तको सरसापट गरेर उहाँले आफ्नै गाउँ लुयाटामा बाख्रा पालन सुरु गर्नुभयो । बाख्रपालन नै अहिले उहाँको परिचय बनेको छ ।
उहाँ दिन रात नभनेर बाख्राको स्याहारमा खट्नुभयो, व्यवसाय पनि फष्टाउँदै गयो । व्यवसाय सुरु गरेको केही वर्षमै उहाँ अहिले जिल्लाकै नमुना बाख्रापालक किसानको रुपमा चिनिन थाल्नुभएको छ । ‘नेपालमा गएर के काम गर्छस् यतै काम गर्दै गरे पछि गतिलो चौकीदारी काम पाइन्छ’ भारतमा चौकिदारी गर्ने साथीको सुझाव थियो । साथीको सुझावलाई वेवास्त गर्दै भारत छोड्नुभएका सिंहले भन्नुभयो ‘साथीहरुले नेपाल नजा पछि पछुताउलास भन्थे । जे भए पनि आफ्नो माटो हो, मेहनत गरे कसो फल नपाइएला भनेर केही नसोची घर फर्के ।’
‘जागिर पाउने आश थिएन’ उहाँले भन्नुभयो ‘नेपालमा नै बाख्रा पालेर नमुना बनेर देखाउँछु भन्ने सोंच भारतबाट फर्कंदा बाटोमा नै बनाई सकेको थिएँ ।’
सुरुमा २० वटा बाख्राबाट व्यवसाय थालेका गगनको खोरमा अहिले ५० वटा बाख्रा छन् । यस बिचमा उहाँले १ सय ५० भन्दा बढी खसी र बोका बिक्री गरी सक्नुभएको छ । ‘वर्षको ३/४ लाख रुपैयाँको खसी बोका बिक्री हुन्छ’ उहँले भन्नुभयो, ‘घर परिवारसँग बस्न पाइएको छ । सबैले हौसला दिने गरेका छन् । व्यवसाय राम्रै छ ।’
बाख्रा बेचेर आएको आम्दानीले गगनले तीन सय वटासम्म बाख्रा अटाउने सुधारिएको खोर निर्माण गर्नुभएको छ । सुरुमा घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएको सुनाउने गगनले व्यवसाय सुरु गरे पछि २÷४ पैसाका लागि कसैको मुख ताक्नु नपरेको बताउनुभयो । ‘पहिला छोरा छोरी पाल्न पनि गाह्रो थियो । अहिले त सबै राम्रो भएको छ । छोरीलाई अनमि र छोरालाई होटल व्यवस्थापनमा स्नातकोतर सम्म पढाएको छु । नेता कै झोला बोकेको भए वा भारतकै मजदुरीमा लागेको भए यो सबै हुने थिएन’ उहाँले गर्वका साथ भन्नुभयो ।
उहाँको मिहनेत देखेर जिल्ला कृषि विकास कार्यालयका प्राविधिकले पनि उहाँको व्यवसाय प्रर्वधनमा सहयोग गरिरहेका छन् । स्थानीय संस्था साइपाल विकास समाजको सहयोगमा चितवनमा ४५ दिने बाख्रा पालन तालिम समेत गरिसक्नुभएको उहाँले आफ्नो फर्मलाई जिल्ला कै नमुना बाख्रा फर्मको रुपमा विकास गर्ने लक्ष राखेका बताउनुभयो ।
उहाँ बाख्रामा लागेको रोग पनि आफैं उपचार गर्नुहुन्छ भने गाउँका अन्य बाख्रापालक किसानलाई पनि औषधी उपचारमा सहयोग गर्ने गर्नुभएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदन जोशीका अनुासर गगन अत्यन्तै मेहनती र जिल्लाकै नमुना किसान पनि हुनुहुन्छ । ‘उहाँको लगनशिलता र मेहनत राम्रो छ । भोलिका दिनमा उहाँको फर्म बाख्रा पालनको लागि श्रोत केन्द्रको रुपमा विकास हुन सक्छ’ जोशीले भन्नुभयो ।