रुकुम/मौरीपालन व्यवसायमा नयाँ रोगको महामारी देखापरेपछि रुकुमका मौरी पालक किसान समस्यामा परेका छन् ।
मौरीका लागि प्रख्यात जिल्लाको पिपल र पोखरामा घारबाट मौरी एकासी हराउँदै गएपछि किसान समस्यामा परेका हुन् । कात्तिकको पहिलो हप्तादेखि मह झिक्ने सिजनमा मौरी मासिँदै गएपछि किसानलाई संकट परेको हो । जिल्ला कृषि विकास कार्यालय रुकुमका कार्यालय प्रमुख सहदेव प्रसाद हुमागाईँले मौरीमा नौलो रोग देखा परेकाले तत्काल केन्द्रबाट विशेषज्ञसहितको टोली बोलाएर अध्यान गरिने बताउनुभयो । उहाँले जिल्लामा मौरीको रोग बारे जान्ने कोही नभएकाले व्यवसायी किट विकास निर्देशनालय काठमाडौंको मौरी विकास शाखाबाट प्राविधिक विशेषज्ञ झिकाई आफै प्रभावित क्षेत्रमा जाने बताउनुभयो । अहिलेसम्म नदेखिएको रोग देखिएकोले किसानसँगै जिल्ला कृषि विकास कार्यालयको प्राविधिक टोली पनि चिन्तित छ ।
कृषि कार्यालयले आधुनिक घार र मौरी अन्य गाविसमा पनि वितरण गरेको थियो । ति गाविसमा भने पिपल र पोखरामा जास्तो मौरीमा नयाँ रोग नदेखिएको कार्यालयले जनाएको छ । मौरीमा समस्या नभए पनि गएको वर्षमा भन्दा यस वर्ष मह उत्पादन भने घटेको किसानले बताएका छन् ।