सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । यसअघि प्रतिकिलो ५ सयमा विक्री हुँदै आएको खसीबोकाको मासु बढेर ६ सय रुपैयाँ पुगेको सुर्खेत मासु व्यवसाय सङ्घले बताएको छ । जिल्लाबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायत ठूला शहरमा खसी, बोका निर्बाध रूपमा बाहिरिन थालेपछि मासुको मूल्य बढेको व्यवसायीले बताएका छन् ।

सीधै किसानबाट बढी मूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरीद गरेपछि मूल्य बढाउनुपरेको सङ्घका अध्यक्ष जनक थापाको भनाइ छ । ३ महीनाअघि प्रतिकिलो ३ सय ३० रुपैयाँमा खरीदविक्री भएको जिउँदो खसीको मासु अहिले बढेर ३ सय ६० रुपैयाँ पुगेपछि मूल्य बढाउन बाध्य हुनुपरेको उनले बताए ।

मासु व्यवसायीले आफूखुशी मूल्य वृद्धि गरी मङ्सिर ७ गतेदेखि प्रतिकिलो ६ सय रुपैयाँमा विक्री गरिरहेका छन् । यद्यपि, जिल्लाका सबै सरोकारवाला तथा उपभोक्तालाई पूर्व जानकारी गराएर मात्र खसीको मासुको मूल्य बढाइएको सङ्घले बताएको छ । यसअघि खसीको मासु उपभोक्ता मूल्य प्रतिकिलो ५ सय रुपैयाँ थियो ।

स्थानीय प्रशासनसँग भएको सहमतिविपरीत सदरमुकाम वीरेन्द्रनगरका व्यवसायीले खसीको मासुको मूल्य वृद्धि गरेका छन् । झण्डै २ महीनाअघि राष्ट्रिय उपभोक्ता मञ्च, व्यवसायी, प्रहरी र जिल्ला प्रशासन कार्यालयबीचको सहमतिमा मूल्य निर्धारण गर्ने भनिएको थियो ।

व्यवसायीले गत मङ्गलवारदेखि प्रतिकिलो १ सय रुपैयाँ बढाएर ६ सय पुर्‍याएका हुन् । सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले कुनै पनि व्यापारीले आफूखुशी मूल्य वृद्धि गर्न नपाउने बताए ।