नुवाकोट। गाउँमा उत्पादन हुने काउली, बन्दा, फलफूललगायत स्थानीय उत्पादनलाई प्रचारमा ल्याउन वेभसाइट सञ्चालनमा आएको छ । नुवाकोटको चतुराले गाउँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पर्यटन व्यावसायी बासुदेव पाण्डे र अर्जुन पाण्डेको संयुक्त प्रयासमा www.chaturale.com मार्फत अब अनलाइन सपिङ हुने भएको हो ।

शनिबार चतुराले बजारमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटा र डा. हेली साओले उक्त अनलाइनको संयुक्त रुपमा उद्घाटन गरे । डा. हेली अष्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभर्सिटीबाट नेपाली संस्कृतिको विषयमा अध्ययन गर्न ६ वर्षअघि नेपाल आएकी हुन् ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुमा नै पर्यटन क्षेत्रको सफलता रहेको बताए । ‘यो गाउँ काठमाडौंबाट नजिकै छ, यहाँको स्थानिय सांस्कृतिक पहिचान, स्थानिय उत्पादनलाई हामीले प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘यो गाउँको विकास भनेको पर्यटन हो । विकासको लागि सबै एक ठाउँमा आउनुपर्छ ।’सापकोटाले परिवतर्नको सुरुवातबाट आफैँबाट गर्नुपर्ने भन्दै टोल सुधार भएमात्रै राष्ट्र सुधार हुने बताए ।

त्यस्तै डा. हेली शाओले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मात्र नभइ चतुरालेको विकासका लागि पनि ‘कल्चरल हेरिटेज’को रुपमा विकास गर्नुपर्ने धारणा राखिन् । ‘यो ऐतिहासिक र रमणीय ठाउँलाई इन्टरनेटको माध्यमबाट चिनाउन म सक्दो सहयोग गर्छु,’ उनले भनिन्, ‘यहाँ संग्राहालय बनाउनुपर्छ, जहाँबाट यहाँको फलफूल मात्रै होइन यहाँको संस्कृतिको पनि विश्वव्यापीकरण हुनेछ ।’उनले अनलाइन सपिङका लागि खाकासमेत प्रस्तुत गरेकी थिइन् ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)का पूर्वअध्यक्ष शिव लामिछानेले नुवाकोट जिल्लाको ऐतिहासिक स्थल चतुराले गाउँलाई पर्यटकीय गन्तव्य बनाउन अनलाइन सपिङले महत्वपूर्ण भूमिका खेल्ने बताए ।कार्यक्रममा स्थानियहरुले पञ्चेबाजा, लाखेनाच भजनलगायत सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।