सुर्खेत । सुर्खेतमा नेपालकै पहिलो अत्याधुनिक खाद्यान्न भण्डार (गोदाम) बन्ने भएको छ । प्रस्तावित ६ नम्बर प्रदेशको खाद्य सुरक्षालाई केन्द्रविन्दुमा राखेर कर्णालीमा उत्पादित गेडागुडीलगायत खाद्यान्न भण्डारणका लागि सुर्खेतमा वातानुकूल गोदाम बनाउन लागिएको हो ।
जापान सरकारको सहयोगमा २ सय मेट्रिक टन क्षमताको गोदाम निर्माणका लागि ३ करोड रुपैयाँ सहयोग प्राप्त भएको नेपाल खाद्य संस्थान शाखा सुर्खेतले जानकारी दिएको छ । साढे ९ कठ्ठा क्षेत्रफलमा बनाउन लागिएको गोदामका लागि अहिले डोइन डिजाइनको काम भइरहेको संस्थानका सुर्खेत शाखा प्रमुख भीमबहादुर थापाले बताए । उनले डोइन डिजाइनको काम पूरा हुनेबित्तिकै गोदाम निर्माणका लागि टेण्डर प्रक्रियामा जाने बताए । उनका अनुसार वातानुकूल गोदाम सन् २०१७ भित्रै निर्माण गरिसक्नुपर्नेछ ।
‘कर्णालीका कृषकलाई उत्पादनतर्फ उन्मुख बनाउँदै त्यहाँबाट उत्पादित खाद्यबाली, गेडागुडीको भण्डारण र अत्याधुनिक गोदामबाट विक्रीवितरण हुनेछ,’ उनले भने । उनले गोदाम निर्माणपछि कर्णालीका कृषकलाई बजारको सुनिश्चितता गराउँदै कृषि उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिने जिकिर गरे । उक्त गोदाममा सीसी क्यामरा, डिजिटल वार्निङ ब्रीज (धर्मकाँटा), सेक्युरिटी गार्डलगायत सुविधा रहनेछन् ।
‘कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कर्णालीका कृषकको आयस्तरमा वृद्धि गर्न अत्याधुनिक गोदामको आवश्यकता थियो,’ उनले भने, ‘गोदाम निर्माण भएपछि कर्णालीसँगै भेरीका कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादकत्वको भण्डारण तथा विक्रीवितरणका लागि सहज हुनेछ ।’ कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणका लागि यस्ता नमूना खाद्यान्न भण्डारण गर्ने गोदामले खाद्य सुरक्षाको सुनिश्चिततामा टेवा पुग्ने उनको भनाइ छ ।
मध्यपश्चिमको खाद्य सुरक्षाका लागि जनप्रतिनिधिले पहल गरेअनुसार सरकारले सुर्खेतमा अत्याधुनिक खाद्यान्न भण्डारणका लागि गोदाम बनाउन लागेको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बताए । उनले यस क्षेत्रका कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादकत्वको भण्डारण तथा विक्रीवितरणका लागि बन्न लागेको वातानुकूल गोदामबाट सुर्खेतवासीलाई मात्र नभई कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने बताए ।