चितवन । चितवन जिल्लाको पहाडी गाउँ शक्तिखोरको राजवनमा जाँदा निकै स्यहारले बाख्रा पालेको भेटिन्छ । लगभग चेपाङहरुको मात्रै बसोबास भएको सो ठाउँमा बाख्रा पालन आयआर्जनको राम्रो माध्यम बनेको छ ।
चेपाङ गाउँका घरहरु खासै राम्रा हुँदैनन् भन्ने धेरैलाई लाग्छ । तर, राजवनमा त्यस्तो निराश भइहाल्नुपर्ने अवस्था पनि छैन । ढुंगा अर्थात स्लेटले छाएको घरको आडमा चिटिक्कका बाख्राका खोर पनि रहेका हुन्छन् । पाखो भिरालो जमिनमा अन्न खासै फल्दैन । पैसा कमाउने मुख्य माध्यम नै खसी बोका भएका कारण स्याहार गरेर पालेको गाउँलेहरु बताउँछन् ।
हरिमाया चेपाङको घरको आडैमा पनि बाख्राको खोर छ । अर्को बिहे गरेर श्रीमान अर्कै गाउँमा बस्न थालेका कारण छोराछोरीको पालन पोषणको जिम्मेवारी उनकै काधमा छ । ‘यही खसीबोका बेचेर गुजारा चलाउन सजिलो भएको छ’ हरिमायाले भनिन् । भिरालो जमिन लगाएको कोदो मकैले केही महिना मात्रै खान पुग्छ । बाख्रा बेचेर आएको पैसाले गुजारा चलाउन सजिलो भएको छ ।
गाउँका अगुवा कविलाल चेपाङ पनि बाख्रा पालनले गाउँमा पैसा भित्र्याउँन मद्दत गरेको बताउँछन् । ‘दुई चारवटा पाल्ने पनि छन् । कसै कसैको ५०/६० वटा पनि छन् । काम चल्ने हिसाबले नपालेर अलि व्यवस्थित तरिकाले राम्रो खोर बनाएरै पाल्नेहरु धेरै नै छन्’ कविलालले भने । गाउँमा अरु नगदे खेती खासै नहुने भएका कारण आर्जनका लागि बाख्रा पालन राम्रो मानिएको उनले बताए ।
‘दसैंका बेलामा घर घर नै खोज्दै आउँछन् । अरु बेलामा शक्तिखोरसम्म पु¥याए पनि बिक्री हुन गाह्रो छैन’ हरिमाया चेपाङले भनिन् । गाउँको आडैमा जंगल राम्रो भए पनि विकासे डाले घाँसहरु पनि रोपेको हरिमायाले बताइन् । जसले गर्दा बाख्रा हुर्काउन बढाउन पनि सजलै भएको उनको भनाइ छ ।
कालिका नगरपालिकाको वडा नं. १ मा परे पनि राजवन गाउँमा सडक बिजुली जस्ता कुनै सुविधा छैनन् । गाउँमा ३८ घरधुरी छन् । शक्तिखोर बजारबाट दुई घण्टा उकालो हिँडेर पुगिने सो गाउँमा कक्षा ३ सम्म पढाइ हुने प्राथामिक विद्यालय छ । जसको भवन भत्केका कारण अहिले अष्ट्रेलियाको क्यानबेरामा बस्ने नेपालीहरुको सहयोगमा बन्दै छ ।
‘हामी सरकारी निकायको सेवा सुविधाबाट अलि पर नै छौं । जीवन सहज बनाउने माध्यमहरु पनि यहाँ खासै छैनन् । दुःख कष्ट त छ तर हामी आफैले केही गरेर परिवारलाई राम्रैसँग चलाउन पनि चाहन्छौं । त्यसका लागि यो बाख्रापालनले निकै सहयोग पु¥याएको छ’ स्थानीय अगुवा कविलाल चेपाङले भने ।