इलाम । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले २० लाख रूपैयाँ आम्दानी गरेका छन् । यस वर्ष उनले एक हजार चारसय क्विण्टल स्कुस बिक्री गरेका हुन् । उनले झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । शुरुवातमा तामाङले प्रतिमन रू. एक हजार दुईसयमा बिक्री गरेका थिए ।
पन्ध्र रोपनी जमिनमा उनले व्यावसायिक रूपमा स्कुसखेती गर्दै आएका छन् । ऋण लिएर रू. २० हजारको लगानीमा तरकारी खेती शुरु गरेका उनले स्कुस बेचेर १८ रोपनी जमिन पनि किन्न सफल भएका छन् । ‘यस वर्ष मुण्टा बिक्रीबाट मात्रै रू. ३० हजार आम्दानी भयो’, उनी भन्छन् । गत वर्ष स्कुसको जरा बिक्री गरी रू. एक लाख २० हजार आम्दानी गरेका थिए ।
सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाका प्रत्येक घरले कम्तीमा तीन रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आएका छन् । यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरीद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउँछन् । चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मदत पुर्‍याएको छ ।