बिल अधिकारी
चितवन।चितवनको दारेचोकमा कृषि राज्य मन्त्री राधिका तामाङले किसानहरुको पिर मर्का र समस्याका बारेमा स्थलगत अवलोकन तथा किसानहरुसंग प्रत्यक्ष संवाद गर्नुभएको छ ।
चितवनको दारेचोक–४ तामिन गाउँमा दारेचोक र चण्डिभञ्ज्याङका किसानहरुसंग प्रत्यक्ष संवाद कार्यक्रममा बोल्दै कृषि राज्य मन्त्री तामाङले किसान वर्गका हकहित र विकासका लागि सरकारले विभिन्न आकर्षक र लाभदायक कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका राज्य मन्त्री तामाङले किसानको हकहित र विकास तथा स्तर बृद्धिका लगि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरि नेपालको अध्यक्षतामा भएको किसान संवाद कार्यक्रममा कृषि मन्त्रालयका सह–सचिव डा. सुरज पोखरेल, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधिर श्रेष्ठ, एक परिवार एक फार्मका संयोजक रामबहादुर लामा, स्थानीय समाजसेवी बलराम श्रेष्ठलगायतका बक्ताहरुले आफ्नो धाराणा राख्नु भएको थियो ।
कार्यक्रममा अगुवा कृषक तथा सहभागी विभिन्न संघसँस्थाका प्रतिनिधिहरुले किसानको समस्याका बारेमा कृषि राज्य मन्त्री राधिका तामाङलाई ध्यानाकर्षण गराएका थिए । पहिलो पटक बिकट गाउँमा मन्त्रीको भ्रमण हुँदा स्थानीय किसानहरु उत्साहित र प्रेरित रहेको ईच्छाकामना क्षेत्र विकास समितिका सदस्य तथा कृषक रामप्रसाद बोहोराले बताउनु भयो ।
प्रसिद्ध धार्मिक स्थल ईच्छाकामना मन्दिरको काखमा रहेको तामिन गाउँ चितवन जिल्लामानै सुन्तला खेतीको लागि प्रसिद्ध मानिन्छ । केहि वर्ष अघिदेखि तमिन गाउँसम्म मोटरबाटो पुगेपछि व्यवसायिक सुन्तला तथा तरकारी खेतीमा निर्भर रहदैँ आएका किसानहरुलाई बजार सम्म आफ्नो उत्पादन लैजान सहज भएको छ ।सुन्तला खेतिबाट यहाँका बासिन्दाहरुको जिवनस्तर नै फेरिएको छ ।
यसैबीच कृषि राज्यमन्त्री राधिका तामाङले फिस्लिङ बजारमा रहेको तरकारी बजारको पनि स्थलगत भ्रमण गरी किसानहरुको अबस्थाको बारेमा प्रत्यक्ष जानकारी लिनु भएको “एक परिवार एक फार्म”कार्यक्रमका संयोजक रामबहादुर लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्टेप मुग्लिन र दारेचोक गाविसको संयुक्त आयोजनामा भएको हो । किसानहरुको समग्र विकासमा केन्द्रित रही समुदायस्तरमा संचालित अभियानमुखी एक परिवार एक फार्म कार्यक्रमले चितवनका ५ पहाडी गाबिसहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।