लमजुङ।लमजुङमा कुखुराको मासुको मूल्य पसलैपिच्छे फरक–फरक पाइएको छ । मासु व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाका कारण कुखुराको मासुको मूल्य फरक भएको हो ।सदरमुकाम बेसीसहरलगायत जिल्लाका विभिन्न बजारमा व्यापारीले मासुको मूल्य आफूखुसी तोक्दै आएका छन् । मासुको मूल्यमा संस्थागत निर्णय नहुँदा जिल्लामा कुखुराको मासु बिक्री गर्दै आएका ब्यापारीहरूले आफूखुसी मूल्य निर्धारण गरेका हुन् ।
बेसीसहरमा लामो समयदेखि कुखुराको मासु, अण्डा, दाना बिक्री गर्दै आएको हुलाकी फ्रेस हाउस, चाहना फ्रेस हाउस, सुजल फ्रेस हाउस, मिट मार्टलगायतमा मूल्य फरक–फरक छ ।
उपभोक्तालाई हुलाकीले प्रतिकिलो २ सय ५०, चाहनाले २ सय ५५, सुजलले २ सय ४० र मिटमार्टले २ सय ८० रुपैयाँमा कुखुराको मासु बिक्री गर्दै आएका छन् । व्यापारीबीचको प्रतिस्पर्धाको फाइदा भने उपभोक्ताले उठाइरहेका छन् ।
“मासुको मूल्य घटेपछि उपभोक्ताको संख्यामा वृद्धि भएको छ,” मासु व्यवसायी संघ लमजुङका अध्यक्षसमेत रहेका हुलाकी फ्रेस हाउसका सञ्चालक गुणराज सिलवालले भने, “पछिल्लो समय व्यापारी–व्यापारीबीच अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । जसका कारण उपभोक्ताले लाभ लिएका छन् ।”
सुजल फ्रेस हाउसका सञ्चालक शरद बरालले मासु व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको स्वीकार गरे । उनले ठूला व्यापारीले साना व्यापारीलाई माथि उठ्न नदिन प्रतिस्पर्धा गरेको आरोप लगाए । “हामीले भर्खर व्यवसाय सुरु गरेका छौं,” उनले भने, “तैपनि प्रतिस्पर्धामा उत्रिएका छौं ।”
लमजुङमा यसअघि प्रतिकिलो ३ सय ५० रुपैयाँको हाराहारीमा मासु बिक्री हुँदै आएको थियो । विगतमा आपसी समझदारीमा मासुको मूल्य बढाउने र घटाउने गरिए पनि पछिल्लो समय नयाँ स्थापना भएका र केही साना व्यापारीले बजार एकलौटी बनाउने हेतुले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका हुन् ।
चितवनको बजारमा मासुको मूल्यमा एक्कासि गिरावट आएपछि लमजुङमा पनि त्यसको प्रभाव परेको व्यवसायीहरूको भनाइ छ ।
“लमजुङमाभन्दा चितवनमा कुखुराको बिक्री मूल्य कम भएकाले त्यहीँबाट कुखुरा भित्रिने डरले मूल्यमा गिरावट आएको हो,” चाहना फ्रेस हाउसका सञ्चालक ज्ञानेन्द्र बोहराले भने, “विगतदेखि नै चितवनको तुलनामा कुखुराको बिक्री मूल्य बढी नै थियो ।”
चितवनका व्यापारीहरूले लमजुङको बजारमूल्य बढी देखेर कुखुरा ल्याउँदा जिल्लाका किसान मारमा पर्ने भन्दै मूल्य घटाइएको बताएका छन् । बेसीसहरमा मात्रै साना ठूला गरी ५३ वटा मासु पसल छन् भने जिल्लाभर ७ सयको हाराहारीमा मासु पसल खोलिएका छन् ।